नवीन अभिलाषी
वि.सं. ८०९ मा राजा रत्ननाथद्वारा स्थापना गरिएको श्रीसिद्ध रत्ननाथ मन्दिर चौघेरा भौतिक पुर्वाधारले भव्य नभए पनि यसको महत्व, महिमा र ऐतिहासिकता भने निक्कै ठुलो छ । राजा रत्न परीक्षकले तपस्या गरे पश्चात् गोरक्षनाथले दिएको पात्र देवता लिएर विश्व भ्रमण गर्दै भारतको देवी पाटन मन्दिर हुदै चौघेरा आइपुगेपछि उक्त मन्दिरको स्थापना गरिएको इतिहास छ ।
घोराही उपमहानगरपालिका वडा नं. १७ स्थित मन्दिरको प्रांगणमा काल भैरव, बाल सुन्दरीदेवीको पनि मूर्तिसँगै मन्दिर निर्माण भएका छन् । करिब पाँच बिघा क्षेत्रफल जग्गामा बटुभैरव, अछाम भैरव, अखण्ड धुना, गोरक्षनाथको मन्दिर, शिवालय, धर्मशालालगायतका संरचनाहरू छन् । अनेक विषयले महत्वपुर्ण मानिने यो मन्दिरको एउटा पक्ष हो चित्रहरु । वर्षौ पहिले चित्रकार प्रभातनाथ योगीले बनाएका चित्रहरु लामो समयदेखि अलपत्र अवस्थामा रहेका थिए । तर अहिले मन्दिरले ति चित्रहरु व्यवस्थित गर्न खोजेको छ ।
मन्दिरको एउटा भवनमा तत्कालिन साधुसन्त प्रभातनाथ योगीले बनाएका शाह बंशीय राजाहरुदेखि विभिन्न जीवजन्तु, धार्मिक देवीदेवताहरुका चित्रहरुलाई व्यवस्थित गर्न खोजिएको छ । करिव दुई सय संख्यामा रहेका चित्रहरुको संरक्षण हुन थालेकोमा संस्कृतविद् डा. गोविन्द आचार्यले खुशी ब्यक्त गर्नुभयो । प्रभातनाथ योगीले २०२० सालदेखि २०६६ सालसम्म विभिन्न चित्र निर्माण गरेका थिए ।
नेपालको कर्णाली प्रदेशदेखि अन्नपुर्ण, सगरमाथा हिमालसम्मका तमाम प्राकृतिक सौन्दर्यपुर्ण चित्रहरू छन् भने नेपालको राजनीतिक इतिहासमा देशलाई शासन गर्ने राजाहरूका चित्र छन् । यस्तै शब्दचित्रदेखि मन्दिर, देवीदेवताका चित्रहरू रहेका छन । प्रभातनाथ योगीले लेखी छोडेको तथ्यांकअनुसार २०२१ सालदेखि मन्दिरमा प्रभात आर्टको स्थापना गरेर चित्रालय निर्माण गरेको जानकारहरु बताउछन् ।
कला सस्कृतिको संरक्षणमा राज्यको ध्यान जानुपर्ने भन्दै आफनै अगाडी रहेका सम्पतिको संरक्षणका लागि मन्दिर व्यवस्थापन समिति, स्थानीय बुद्धिजिवी र स्थानीय सरकारले योजना बनाएर काम गर्न आवस्यक रहेको भोलानाथ योगीले बताउनुभयो । उहाँका अनुसार चित्रहरुको संरक्षणका लागि अहिले गोरखनाथ बैदिक गुरुकुल आवासीय छात्रावास निर्माण गरेको छ ।
छात्राबासमा चित्रहरु तथा पुराना ऐतिहासिक तथा धार्मिक पुस्तकालय राखिएको छ । मन्दिरमा स्तरिय हल कोठा नहुदा प्रभातनाथ योगीले बनाएका चित्रहरुसँगै मन्दिरमा रहेका पुस्तकहरुको संरक्षणमा समस्या भएको थियो । ४० देखि ५० वटा ऐतिहासिक, पुरातात्विक, धार्मिक रूपमा अति नै महत्वपूर्ण पुस्तकहरू छन् ।
अहिले ती पुस्तकहरू पनि दीर्घकालिन रूपमा संरक्षण गर्ने गरी व्यवस्थापन गरिएको छ । नेपाली, हिन्दी, संस्कृत र अंग्रेजी भाषाका किताबहरू अध्ययन गर्न बेला बेला विद्यार्थीहरू आउने र बस्ने व्यवस्था गरेको छ । पुस्तकहरु अध्ययनका लागि स्वदेशी तथा विदेशी विभिन्न व्यक्तिहरु आउने भएका कारण उनीहरुलाई बसेर अध्ययन गर्ने उपयुक्त कोठा बनाईएको छ ।
धार्मिक, ऐतिहासिक, सास्कृतिक एव वैज्ञानिक दृष्टिकोणले बनाईका चित्रहरुसँगै मन्दिरको पुस्तकालयमा कर्णाली प्रदेशको इतिहास, सन्धी पत्र, विभिन्न धार्मिक ग्रन्थ, गोरक्ष योग मञ्जरीलगाएतका विभिन्न धार्मिक पुस्तकहरु रहेका छन ।
बजेटको अभावका कारण मन्दिरको पुर्ननिर्माण र ऐतिहासिक बस्नुहरुको संरक्षणमा समस्या भएको छ । गुठी संस्थानले समयमै पैसा नदिदा मन्दिरमा दैनिक पुजापाठका लागि सामाग्री किन्नेदेखि कर्मचारीहरुलाई तलव खुवाउन समेत समस्या हुने गर्दै आएको छ । प्रभातनाथ योगीले मन्दिरमा बसेको करिव ४० बर्षको अवधिमा धेरै चित्रहरु बनाएको योगीहरु ब्ताउछन् ।
चित्रहरु नेपालका काठमाण्डौको पशुपतिनाथ मन्दिर, चौघेरा लगाएतका भातरका विभिन्न स्थानमा समेत भेटिने गरेका योगीहरु बताउछन । कलाकारिताका धनी प्रभातनाथले चौघेरामै धेरै चित्रहरु बनाएर पनि चित्रहरुको उचित संरक्षण हुन सकेको छैन ।