दाङ, पुस ११ । देउखुरी गढवा गाउँपालिका ५ झालीकी एलिसा चौधरी २० वर्षमै दुई सन्तानको आमा बन्नुभयो । बुटवल माईत भएकी एलिसा देउखुरी आएको बेला साथीको लहलहैमा लागेर १६ वर्षमा विवाह गर्नुभएको हो । भागेर विवाह गर्नुभएकी एलिसाको अहिले ३ वर्षको छोरी र ९ महिनाको छोरा छन् । विहिबार त्यहि ९ महिनाको छोरा च्यापेर एलिसा गढवा स्वास्थ्य चौकीमा स्थायी बन्ध्याकरणका लागि आउनुभयो ।
जीवनमा भुलबस बालकैमा विवाह गरेको जस्तो लागेर अहिले एलिसालाई पछुतो मात्र हैन, सचेत बन्नुपर्छ भन्ने लाग्छ । पढ्ने, खाने लाउने र रमाउने उमेरमा घरव्यवहारले च्यापेपछि अब अरु सन्तान नजन्माउने परिवारमा सल्लाह भयो । त्यहि सल्लाह अनुसार स्वास्थ्य चौकीमा पुगेर एलिसाले स्थायी बन्ध्याकरण गराउनुभयो । ‘एउटा छोरा र एउटा छोरी भयो, अब अरु सन्तान नजन्माउने भन्ने सल्लाह भयो, स्वास्थ्य स्वयम् सेविकाले पनि राम्रो हुन्छ भन्नु भएको छ ।’
लजाउँदै एलिसाले भन्नुभयो । ५ कक्षा पढ्नुभएकी एलिसालाई स्थायी बन्ध्याकरणको बारेमा पहिले त्यति थाहा थिएन । महिला स्वास्थ्य स्वय सेविकाले सबै कुरा बुझाएपछि बन्ध्याकरण गर्नपर्छ भन्ने लाग्यो ।
एलिसा जस्तै दुई सन्तानको आमा बन्नुभएकी निशा चौधरी उमेरले २१ वर्षमा हुनुहुन्छ । ३ महिनाकै सुत्केरी निशाले पनि स्थायी बन्ध्याकरण गर्नुभयो । १५ वर्षमै प्रेम विवाह गर्नुभएकी निशालाई अव सन्तानको रहर पुगेको छ । जन्मान्तरका लागि उहाँले परिवार नियोजनको अस्थायी साधन पिल्स समेत खानुभयो । ‘कति दिनसम्म पिल्स खाने ? अब बच्चा नजन्माउने भन्ने कुरा स्वास्थ्य स्वयम् सेविकाले सिकाएपछि मैले घरमा सल्लाह गरेँ ।’
निशाले भन्नुभयो, ‘दुई वटा मात्रै बच्चा भयो भने त पढाउन, लेखाउन पनि सजिलो हुन्छ, अहिले कत्ति महंगो छ नी त, सरकारी स्कुलमा हालेर मात्र पनि भएन, राम्रै खान दिनुप¥यो, राम्रै लगाउन दिनुप¥यो ।’ निशाले जेठानीले पनि स्थायी बन्ध्याकरण गरेपछि ढुक्क भएको थाहा थियो । जेठानीबाट पनि धेरै सल्लाह पछि उहाँले २१ वर्षकै उमेरमा स्थायी बन्ध्याकरण गर्नुभएको हो ।
देउखुरीको ग्रामिण क्षेत्रमा थारु समुदायको बाक्लो बस्ती छ । केहि वर्ष पहिले सम्म परिवार नियोजन नगर्ने थारु समुदायका महिलाहरु अहिले २ सन्तान भएपछि स्थायी बन्ध्याकरण गर्ने गरेका छन् । गढवा गाउँपालिका वडा नं. ४ को महिला स्वास्थ्य स्वयम् सेविका पार्वती चौधरीलाई थारु समुदाय पहिले भन्दा धेरै परिवर्तन भएको जस्तो लाग्छ । ‘अस्थायी साधनले धोका हुन सक्छ, ज्यानलाई सधै राम्रै गर्छ भन्ने छैन, पहिलेको तुलनामा अहिले विकास भएको छ, चेतना बढेको छ, थारु समुदायमा अहिले धेरै महिलाहरुले सन्तानको रहर पुरा भएपछि बन्द गर्नुपर्छ भन्ने बुझेका छन् ।
’ पार्वतीले भन्नुभयो, ‘२० देखि ३७ वर्ष उमेरका महिलाहरुले बन्ध्याकरण गर्नुभएको छ, हामीले सल्लाह दिदै आएका छौँ, केहिले मान्नु हुन्छ, केहिले मान्नु हुन्न ।’ स्थायी बन्ध्याकरणको विषयमा हुने खाने भन्दा पनि काम गरेर खाने, सामान्य परिवारका सदस्यहरुले चासो दिने गरेका छन् । गढवा ७ झारबैराकी महिला स्वास्थ्य स्वयम् सेविका नारायणी डाँगीले पढेलेखेका परिवारमा यस्तो सल्लाह खासै नहुने गरेको बताउनुभयो ।
नेपाल परिवार नियोजन संघ दाङले यो वर्ष पनि अभियानकै रुपमा महिला पुरुषहरुको लागि स्थायी बन्ध्याकरणको शिविर सञ्चालन गरेको छ । पौष ६, ७ र ८ गते सिसहनिया स्वास्थ्य चौकीमा सञ्चालन गरिएको शिविर अहिले गढवा स्वास्थ्य चौकीमा चलिरहेको छ । यसपछि लमही स्वास्थ्य चौकीमा १३ गतेदेखि १५ गतेसम्म चल्ने संघका प्रबन्धक बसन्त खनालले बताउनुभयो । शिविरमा सेवा लिन आउनेहरुमा महिलाहरु बढि छन् ।
सिसहनीयाको विशिरमा २७ जना महिलाले मिनिल्याप गर्दा एक जना पुरुषको मात्र भ्यासेक्टोमी गरेको परिवार नियोजन संघको तथ्यांक छ । यस्तै गढवामा सञ्चालन गरिएको शिविरमा ४२ महिला र २ जना पुरुषको मात्र बन्ध्याकरण भएको छ । महिलाको तुलनामा पुरुषहरु बन्ध्याकरण गर्न नमान्ने गरेको प्रबन्धक खनालले बताउनुभयो ।
परिवार नियोजन र प्रजननको विषयमा निम्न मध्यम वर्गका परिवारहरु सचेत हुने गरेको नेपाल परिवार नियोजन संघ दाङ शाखाका प्रबन्धक खनालले बताउनुभयो । ‘गरिव, निम्न आय भएका परिवारका महिलाहरुले समयमै बन्ध्याकरण गर्ने र ढुक्क भएर जीवनयापन गर्छन्, तर ठुला घरानाको परिवारमा त्यो समस्या छ, बरु वर्षेनी गर्भपतन गराउने तर स्थायी बन्ध्याकरण गर्ने चलन छ ।
’ खनालले भन्नुभयो, ‘यस्सो हृर्दा गरिव, विपन्न परिवारमा समस्या देखिन्छ, तर त्यसो हैन, पढेलेखेका र धनि परिवारमा पनि प्रजनन र परिवार नियोजनको समस्या कम छैन ।’ बन्ध्याकरण गर्न पुरुषहरुलाई सहज हुने भएपनि महिलाहरुले नै बन्ध्याकरण गर्ने धेरै रहेको उहाँले बताउनुभयो ।
‘बन्ध्याकरण महिला पुरुष जस्ले गरेपनि हुन्छ, महिलाको भन्दा पुरुषको बन्ध्याकरण गर्न सहज हुन्छ, र त्यसको कुनै पनि असर हुँदैन, करिव ७ दिन मात्रै आराम गरेपछि पहिलेकै अवस्थामा आउन सकिन्छ, तर अहिले महिलाहरु बढि छन् ।’ पुरुषको तुलनामा बढि महिलाहरु बन्ध्याकरण गर्ने विषय लैंगिक हिंसाको एउटा रुपमा हेरिएको छ ।