दाङ, ११ पुस | वैदेशिक रोजगार म्यादी बीमा सबै बीमा कम्पनीबाट गर्न सकिने भएको छ । तीन दिनअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बीमा समितिसँग छलफल गरेपछि वैदेशिक रोजगार म्यादी बीमा सबै बीमा कम्पनीबाट गर्न सकिने भएको होे ।
त्यस्तै प्रिमियम अनलाइनबाटै भुक्तानी गर्ने सहमति बनेको बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापांगाईले बताउनुभयो । नेपालमा बीमा कम्पनीको सङ्ख्या ४० भए पनि चार वटालाई मात्र वैदेशिक रोजगारीमा जानेहरूको बीमा सम्बन्धी काम गर्ने अधिकार दिइएको छ । बैदेशिक रोजगारीमा जानका लागि उमेर अनुसार कम्तिमा तीन हजार नौ सयदेखि बढीमा नौ हजार नौ सय रुपैयाँमा तीन वर्षका लागि एक पटक बीमा गर्ने गरिएको छ ।
म्यादी बीमाको प्रिमियम अनलाइनबाटै भुक्तानी नगर्दा अनलाईन सिस्टममा समस्या भएको, कुटनीतिक पहलबाट पुनः श्रम स्वीकृति दिने कुरामा पनि समस्या भएको वैदेशिक रोजगार विभागका महानिर्देशक डाक्टर भिष्मकुमार भुसालले जानकारी दिनुभयो ।
गत असोजबाट बैदेशिक रोजगार वोर्डले स्थानीय तहबाटै बैदेशिक रोजगारीका क्रममा मृत्यु भएका व्यक्तिका परिवारले क्षतिपूर्ति रकम उपलब्ध गराउने व्यवस्था गरे पनि बीमाको क्षतिपूर्ति रकम लिन भने काठमाडौं जानुपर्ने बाध्यता छ ।
वैदेशिक रोजगारीमा जाँदा कामदारले अनिवार्य रूपमा १० लाख रुपैयाँको बीमा गर्नुपर्ने प्रावधान छ । कामदारको मृत्यु भएमा आश्रित परिवारले १० लाख रुपैयाँसम्म पाउने व्यवस्था छ ।