पेरिस सम्झौतालाई समग्रतामा कार्यान्वयन गर्नुपर्छ ः प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनका प्रतिकूल असर कम गर्न तथा तापक्रम वृद्धि नियन्त्रणका निम्ति विश्वका सबै देशले पेरिस सम्झौतालाई समग्रतामा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

जलवायु संवेदनशील मञ्चको अप्रत्यक्ष सम्मेलनलाई आज दिनुभएको भिडियो सन्देशमा उहाँले जलवायु परिवर्तनका प्रतिकूल असर हिमाली क्षेत्रमा अधिक परेको र त्यसले पर्वतीय भेगको पर्यावरणीय पद्धतिमा गम्भीर जोखिम सिर्जना गरेको बताउनुभएको छ । “जलवायु परिवर्तनका प्रभावले उच्च हिमाली भेगका वनस्पति र वन्यजन्तुको अस्तित्व जोखिममा परेको छ, केही जीवजन्तुका प्रजाति लोप भएका छन्,” उहाँले धरातलीय सत्य सुनाउँदै भन्नुभयो ।

Blog Post Ad

हिमनदी पग्लने र अनियमित वर्षाले जलवायु परिवर्तनका असरबाट सिर्जित भूक्षय र बाढीजस्ता विपत्ति बढेको बताउँदै प्रधानमन्त्रीले मानव उपभोगका निम्ति आवश्यक पर्ने शुद्ध प्राकृतिक पानीको उपलब्धतामा पनि नकारात्मक असर परेको यथार्थ प्रस्तुत गर्नुभयो । उहाँले अति मरुभूमीकरण, खडेरी र बाली नष्ट हुनेजस्ता समस्या बारम्बार हुन थालेको तथा तिनले पर्यावरणीय सन्तुलन खल्बल्याएको बताउनुभयो । “हिमाली पर्वतहरू महासागरसम्म विस्तार हुने नदीका प्रमुख स्रोत हुन्, जब पर्वतहरू जलवायु परिवर्तनबाट प्रभावित हुन्छन् तब समग्र तल्लो तटले दुःखकष्ट र विपत्ति झेल्नुपर्छ,” हिमाल पग्लिन थालेपछि समुद्री सतह बढ्न गई साना टापु देशको अस्तित्व नै जोखिममा पर्ने वास्तविकता सुनाउँदै प्रधानमन्त्रीले भन्नुभयो ।

Blog Post Ad

दिगो विकासका लक्ष्यलाई जलवायु परिवर्तनसँग तालमेल गराएर पेरिस सम्झौतालाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले सन्देशमा अल्पविकसित, पर्वतीय तथा साना टापु राष्ट्रप्रति नेपालको ऐक्यबद्धता पनि प्रकट गर्नुभएको छ ।

सुरक्षित र पोषक संसारका निम्ति विश्वका सबै देशको सहयोग अपरिहार्य भएको बताउँदै उहाँले जलवायु परिवर्तनका प्रभाव घटाउन राष्ट्रियस्तरमा नीति निर्माण गरी नवीकरणीय ऊर्जाको उपयोग, ऊर्जासम्बन्धी फोहरमैलाको समुचित विसर्जन, वनजङ्गलको विस्तार र प्राकृतिक प्रणालीको संरक्षणलाई नेपालले अधिक महत्व दिएको जानकारी दिनुभयो ।

पर्वतहरूको संरक्षण तल्लो तटका मानव र जीवजन्तु तथा जीवनयापनका निम्ति अतिमहत्वपूर्ण रहेको बताउँदै उहाँले जलवायु परिवर्तनको जोखिममा रहेका देशले भने हरितगृह ग्यास उत्सर्जन अतिकम गरेका छन् भन्नुभयो । गर्दै नगरेको कामको दुष्परिणाम र बर्बादीको शिकार तिनै देश भएको पनि उहाँले बताउनुभयो ।

नेपालजस्ता विकासोन्मुख देशले जलवायु परिवर्तनका असरप्रति मुकाबिला गर्न सामूहिक रुपमा लाग्नुपर्ने, पारस्परिक सहयोग, समन्वय र पैरवीको मात्रालाई अझ घनीभूत तुल्याउनुपर्ने तथा ज्ञान र सीप पनि एकापसमा बाँड्नुपर्ने अपरिहार्यता प्रधानमन्त्री ओलीले औँल्याउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *