नवीन अभिलाषी
दाङ, पुस १६ । दाङमा पाँच लाख पर्यटक भित्राउने उदेश्य सहित दाङमा पनि भ्रमण वर्षको सुरुवात गरिएको छ । नेपाल सरकारले २०२० लाई भ्रमण वर्षको रुपमा घोषणा गरेको छ । त्यहि सन्दर्भमा दाङको घोराही उपमहानगरपालिका वडा नं. १३ स्थित बाह्रकुने दहमा एक भब्य कार्यक्रमको आयोजना गरेर भ्रमण वर्षको उद्घाटन गरिएको हो । प्रदेश नं. पाँचका सभामुख पुर्णबहादुर घर्तिले उद्घाटन गर्नुभएको हो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै जिल्लाका पर्यटकीय स्थलहरुको प्रचारप्रसार र विकासका लागि प्रदेश सरकारले समेत योजना बनाएको बताउनुभयो । अहिलेको समृद्धिको आधार पर्यटन नै भएको भन्दै उहाँले पर्यटन प्रवद्र्धनका लागि लगानी आवस्यक रहेको बताउनुभयो । विदेशी पर्यटकहरुलाई नेपालमा देखाउनका लागि प्रसस्त सम्भावनाका क्षेत्रहरु रहेको भन्दै सभामुख घर्तिले नयाँ पर्यटकीय स्थलहरुको पहिचान, पहिचान भएका स्थानहरुको विकास, मर्मत र प्र्रचारप्रसारमा तीनै तहका सरकारले काम गर्न सुझाव दिनुभयो ।
जिल्ला पर्यटन प्रवद्र्धन समिति दाङका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिका क्षेत्र भित्र रहेका पर्यटकीय क्षेत्रहरुको रंगीन पोष्टरहरुको विमोचन समेत गरिएको छ । पर्यटकीय स्थलहरुको प्रचारप्रसारका लागि भन्दै छपाईएका पोष्टरहरु विभिन्न स्थानमा टाँस गरिने छ ।
भ्रमण वर्षको उद्घाटन कार्यक्रममा जिल्लाका विभिन्न स्थानबाट आएका झाँकीहरुले रमाइलो प्रदान गरे । प्युठानको विजुवारबाट आएको ऐतिहासिक सराँय नाँचले सबैको मन तान्यो । दौरा सुरुवात र टोपी लगाएका १२÷१५ जना पुरुषहरुले टलक्क टल्किने तरवार नचाउँदै मेलामा प्रवेश गरेपछि सबैको ध्यान तान्यो । यस्तै दंगीशरण गाउँपालिकाबाट आएको छोक्रा नाँच होस चाहे थवाङ्गी नाँच ।
यस्ता अनेकौँ नाँचहरुले उद्घाटन समारोहलाई भब्य देखाएको थियो । करिव एक हप्ता पहिलेदेखि नै मेला लाग्दै आएको बाह्रकुने मन्दिर क्षेत्रमा राखिएको झुला र अग्लो पिङमा पनि मानिसहरुको भिड छ । यसको साथै बाह्रकुने मन्दिरको दर्शन, डुंगामा चढ्नेहरुको पनि भिड छ ।