रीता लामा
घोराही, ४ मंसिर । दाङमा थुप्रै पर्यटकिय स्थलहरु छन् । धार्मिक, ऐतिहासिक र प्राकृतिक पर्यटकिय स्थलहरुमा छन् । ती स्थलहरुमा हिजोआज मान्छेहरुको घुइचो बढेको छ । दशैतिहार जस्ता मुख्य चाडपर्व सकिए लगत्तै ती ठाउँहरुमा घुम्न जाने, वनभोज जानेहरुको लहर नै चलेको छ ।
विशेष गरी तिहारको भैलोबाटे उठेको रकम वा साथीहरु बीच मिलेर उठाइएकोको रकमबाट सामुहिक रुपमा बनभोज खाने चलन बढ्दै गएको छ । त्यस्तै विद्यालय, क्याम्पसहरु, समुह, सहकारी, टोल विकास संस्था, राजनीतिक दल, तिनका भातृसंगठनबाट समेत मिलेर सामुहिक रुपमा बनभोज जाने क्रम पनि बढेको छ । जसको पहिलो रोजाई भनेकै यहाँका पर्यटकिय स्थलहरु बनेका छन् ।
सोही कारण पनि यहाँका धार्मिक, ऐतिहासिक र प्राकृतिक पर्यटकिय स्थिलमा आन्तरिक तथा जिल्ला बाहिरका पर्यटकहरुको भिडभाड बढेको छ । घोराहीको बारकुने दह, ज्यामिरे ताल, अम्विकेश्वरी मन्दिर क्षेत्र, पाण्डवेश्वर मन्दिर क्षेत्र, पश्चिम दाङमा गणेशपुर पार्क, शितलपुर क्षेत्र, पुरन्धारा झरनामा अहिले आर्कषणको केन्द्र बनेका छन् । यस्तै देउखुरी क्षेत्रमा जखेरा ताल, बगारवावा धार्मिक क्षेत्रहरुमा सामुहिक रुपमा पुग्ने र बनभोज खान जानेको घुइचो नै हुने गरेको देखिन्छ ।
घोराही देखि दक्षिण पश्चिममा पर्ने पाण्डवेश्वर धारापानी मन्दिरमा अहिले दैनिक तीन हजार बढी पर्यटक आउने गरेका छन् । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विष्णुराम आचार्यका अनुसार अहिले ‘पीकनिक’ खानेको भिडभाड हुने गरेको छ । ‘मन्दिर क्षेत्रमा पीकनिकको लागि भनेर ४ वटा प्रतिक्षालय बनाइएको छ तर त्यसले पुग्दैन ।
’ उहाँले भन्नुभयो ‘चार वटा मात्रै स्टल छ नपुगेर सबै चौरमा बसेर बनभोजको रमाइलो गर्नुहुन्छ ।’ मन्दिर क्षेत्रमा पीकनिकमा आउनको लागि १०÷१५ दिन अगाडी नै स्टल बुक गर्नेहरु आउने गरेको उहाँ सुनाउनुहुन्छ ।
‘पछिल्लो समय पाण्डवेश्वर मन्दिरमा जिल्ला बाहिरबाट पनि धेरै पर्यटक आउने गरेका छन् ।’ उहाँले भने ‘दैनिक १५ सय देखि २ हजार जिल्ला बाहिरबाट आउन् । शनिवारको दिन स्थानिय पर्यटकको थामि नसक्नुको भीड हुने गर्छ ।’
पाण्डवेश्वर धाम बबईको किनारमा, जंगलको नजिक र प्रसस्त हेर्न लायक भौतिक पुर्वाधार निर्माणले पनि पछिल्लो समय अवलोकन, घुमघाम र पुजापाठको लागि आउनेहरुको घुइचो नै बढेको छ । त्यस्तै विहेवारी, पास्नी गर्नेहरु पनि धारापानीमा पुगेकै हुन्छन् । प्रायजसो विहेको भोज त्यहाँ भैरहेको हुन्छ ।
अहिले पाण्डवेश्वर मन्दिरमा बनभोजको लागि ५०० सय रुपैँया तिर्न पर्छ । खुल्ला चौरमा बसेर खानेलाई संख्या हेरेर कम पैसा पनि लिने गरिन्छ । त्योसँगै धारापानीमा भोजको लागि । चौरमा बस्नेलाई अवस्था हेरर संख्या हेरेर शुल्क लिने गरिन्छ ।
अन्य समयमा भन्दा शनिवारको समयमा साप्ताहिक विदा भएको कारणले पनि पिकनिक खानेको ताँति लाग्ने गरेको अम्विकेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कुमुद पोख्रेल बताउनुहुन्छ । पटकपटक ट्याङ्करबाट पानी ल्याउदा समेत वनभोज खानेलाई पुर्याउनै मुस्किल पर्ने गरेको छ ।
घोराहीको नजिकै रहेको बारकुने मन्दिर परिषरमा पनि हिजोआज निकै भिड हुने गरेको छ । मन्दिरमा घुम्न आउनेहरु बढे पछि त्यहाँ वरिपरिको व्यापार व्यवसाय पनि बढेको मन्दिर व्यवस्थापनको समितिका अध्यक्ष टेमन बुढा बताउनुहुन्छ । बारकुने मन्दिर र छेउको तालमा रहेको मनोरम दृश्य वरिपरी घुम्न आउने बढे पछि वरिपरी गाउँमा व्यापार र आम्दानी पनि बढेको उहाँको भनाई छ । दैनिक बनभोज खानआउने, पुजा र घुम्न आउने पर्यटकको कारणले मन्दिर क्षेत्रको सरसफाई र व्यवस्थापनको मासिक खर्च धान्नको लागि समेत टेवा पुगेको उहाँ बताउनुहुन्छ ।
यहाँका धार्मिक स्थलहरुमा आम्दानी र आन्तरिक पर्यटक बढे पनि फोहोर व्यवस्थापनमा समेत समस्या भएको समितिका पदाधिकारीहरु बताउने गरेका छन् । पछिल्लो समय बढेको प्लास्टिकजन्य पदार्थले पर्यटकिय स्थल परिपरि फोहोरमैला भने बढाएको छ । यसको व्यवस्थापनको लागि घोराही उपमहानगर र स्वयम धार्मिक पर्यटकिय व्यवस्थापन समितिले विशेष ध्यान दिन जरुरी छ ।
पाण्डवेश्वर धारापानी मन्दिरमा भने दैनिक एक घण्टा र साप्ताहिक रुपमा आइतवारको दिन विशेष सरसफाई अभियान चलाएको छ । अन्य क्षेत्रमा पनि यस प्रकारको सरसफाई कार्यक्रम आवश्यक छ ।