रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले निर्माण गरेको इँवाखोला जलविद्युत् आयोजनाको उत्पादन एक साताभित्र राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । पूर्वी ताप्लेजुङ र पाँचथरको सिमाना भई बग्ने इँवाखोलाबाट उत्पादन गर्न लागिएको ९.९ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भएसँगै अबको हप्ता दिनभित्र राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको हो ।
इँवाखोला जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनी रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले २०७३ माघदेखि निर्माणको कार्य सुरु गरेको थियो । २०७४ चैतभित्र विद्युत् परीक्षण गर्ने लक्ष्य राखेर निर्माण कार्य सुरु गरिएको आयोजनाको करिब एक वर्ष ढिला गरी योजना सम्पन्न भएको हो । निजी क्षेत्रको लगानी रहेको आयोजनाको कामलाई लक्ष्यअनुसार नै तीव्रता दिएको र बीचमा पहिरोले झन्डै एक सय मिटर दूरी बराबर पाइपलाइनमा क्षति पु¥याएका कारण काम सम्पन्न गर्नलाई एक वर्षजति ढिलो भएको आयोजनाले जनाएको छ ।
ताप्लेजुङको सिदिङ्बा गाउँपालिका–४, साब्लाखु र पाँचथरको याङ्वरक–४, थर्पू पुछार काभ्रे दोभानमा मुहान् अर्थात बाँध र थर्पूको दाहालगाउँ त्रिवेणीमा विद्युत्गृह रहेको आयोजनाको काम करिब सन्पन्न भइसकेको आयोजनाका स्थानीय सामाजिक परिचालक टीकाराम मिश्रले बताउनुभयो । मिश्रका अनुसार बाँधस्थल, पाइपलाइनको सम्पूर्ण काम साथै विद्युत्गृहमा मेसिन जडानको काम सम्पन्न भइसकेको छ । मेसिन जडानको काम सम्पन्न गरेर करिब एक साताअधि नै मेसिनको परीक्षण पनि गरिएको उहाँले बताउनुभयो ।
आयोजनाको काम सम्पन्न भएसँगै हाल राष्ट्रिय प्रसारण लाइनको काबेली करिडोरअन्तर्गत अमरपुरमा रहेको १३२ केभीको सबस्टेसनमा जडानका लागि काम भइरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार अहिले विद्युत्गृह र १३२ केभी लाइनको सबस्टेसनमा स्विचवार्ड निर्माणको काम भइरहेको छ । स्विचवार्डको कार्य एक साताभित्र सम्पन्न हुने र त्यसलगत्तै उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जडान हुने आयोजनाले जनाएको छ । विद्युत्गृहदेखि अमरपुर सबस्टेसनसम्म तार टाँग्ने काम भइसकेको र स्विचयार्ड, ट्रान्समिटरलगायतमा प्राविधिक समस्या नआएमा हप्ता दिनभित्रै बत्ती बल्ने आयोजनाको दाबी छ ।
एक अर्ब ६० करोड रुपियाँभन्दा बढी लागतमा निर्माण गरिएको आयोजनाका लागि बैङ्क अफ काठमाडौँ, लुम्बिनी बैङ्क, माछापुच्छ«े बैङ्क, एनसीसी बैङ्क, सिटिजन बैङ्क इन्टरनेसनल र सिद्धार्थ बैङ्क लिमिटेडको लगानी छ । यस्तै आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ र पाँचथरका स्थानीयको १० प्रतिशत, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको २५ प्रतिशत र बाँकी सर्वसाधारणको सेयर लगानी रहेको आयोजनाले जनाएको छ ।
प्रवद्र्धक कम्पनीका अनुसार २०७० वैशाखमा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्रीको सम्झौता भएपछि २०७१ सालमा ऊर्जा मन्त्रालयले आयोजना निर्माणका लागि अनुमति दिएको थियो ।