सुस्तायो सुन बजार

 

Blog Post Ad Blog Post Ad Blog Post Ad

भदौ ३ गते । चाडपर्व नजिकिँदै गर्दा सुनचाँदी बजार सुस्ताएको छ । सुनचाँदीको भाउ अन्तर्राष्ट्रिय बजारमै महँगो भएसँगै चाडपर्वको मुखमा समेत नेपाली बजारमा सुनचाँदी बजार सुुनसान भएको हो । पछिल्लो समय सुन किन्नेभन्दा बेच्ने ग्राहक धेरै आउने गरेको सुनचाँदी व्यवसायीहरू बताउँछन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


सुनचाँदी व्यवसायी हरिकृष्ण श्रेष्ठले भन्नुभयो, सुनको कारोबार ठप्प छ । उहाँले चाडपर्व नजिकिँदै गर्दा सुनको धमाधम अर्डर आउनुपर्नेमा कारोबार नै शून्य भएको बताउनुभयो । उहाँको गुनासो छ, सानोतिनो ऋण गरेर व्यापार गर्ने हामीजस्तालाई गाह्रो भयो ।
नेपाल सुनचाँदी व्यवसायी सङ्घका अनुसार अघिल्ला वर्षहरूमा भदौको सुरुमै दैनिक ३० देखि ३५ केजी सुनको कारोबार हुने गरेकामा अहिले मुस्किलले १० केजीको मात्रै कारोबार हुने गरेको छ ।
महासङ्घका अध्यक्ष मोहनकुमार विश्वकर्माले अन्तर्राष्ट्रिय बजारकै कारण वृद्धि भएको सुनको मूल्यले गर्दा नेपाली सुन बजार नराम्ररी सुस्ताएको बताउनुभयो । अध्यक्ष विश्वकर्माका अनुसार विगतका वर्षको भदौको पहिलो साताको तुलना गर्ने हो भने सुनको कारोबार अहिले २५ प्रतिशत मात्रै भएको छ ।
तिज आउन लाग्दा महिला ग्राहक सुन किन्नभन्दा बेच्न लालायित छन् तर बिक्री छैन । कुलेश्वर बस्ने विमला अधिकारीले सुन बढेका बेला केही गहना बेच्न खोजेको तर नसकेको गुनासो गर्नुभयो । गहना बिक्रीका लागि कालीमाटीस्थित सुन पसलमा आइपुगेकी अधिकारीले भन्नुभयो, सुन किन्न भने जति पनि पाइने रे तर बिक्री गर्छुभन्दा पर्खिनुपर्छ रे किन्नजस्तै चाहेको बेला बेच्न पनि पाउनुप¥यो नि ।
महासङ्घका अध्यक्ष विश्वकर्माले अहिले सुनचाँदी व्यवसायीले सुन किन्न नसक्नुको कारण अन्य नभई पैसाको अभावले हुनसक्ने तर्क गर्नुभयो । सुनको कारोबार नै नभएको र पैसाको अभावले गर्दा अधिकांश सुन व्यवसायीले बिक्री गर्न आउनेसँग तुरुन्त सुन खरिद गर्न नसकेको स्वीकार गर्दै उहाँले भन्नुभयो, हामी सेवा गर्ने हो सुन महँगो भयो खरिद गर्दिनँ भनेर पाइँदैन, अहिले तुरुन्त खरिद गर्न धेरै व्यापारीलाई पैसाको अभावका कारण समस्या छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला सुनको मूल्य ७१ हजार रुपियाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला ८३० रुपियाँमा किनबेच भइरहेको छ ।

कालीगढको पेसा नै सङ्कटमा
सुनको मूल्य आकासिएसँगै सुन बजार मात्रै सुस्ताएको छैन सुनचाँदीका गरगहना बनाउने कालीगढको पेसासमेत सङ्कटमा परेको छ । गहनाको माग नभएपछि आफूहरूको काम नै बन्द भएको कालीगढहरूले बताएका छन् ।
कालीगढ हीरालाल श्रेष्ठले चाडपर्व सुरु हुँदासमेत सुनचाँदी पसलमा गहनाको अर्डर आउन छाडेपछि आफूले काम नपाएको बताउनुभयो । पाँच वर्षदेखि कालीगढ पेसामा आबद्ध उहाँले भन्नुभयो, चाडपर्वको मुखमा समेत काम नआएर यस्तो शून्य नै भएको मेरो पहिलो अनुभव हो । दुई दशकदेखि गहना बनाउने काम गर्दै आउनुभएका कालीगढ विजयलाल महर्जनले विवाहका लागि साउनदेखि तिलहरी, सिक्री, जन्तर, कण्ठ बनाउन अर्डर आउँथ्यो र यो बेला कामले भ्याइनभ्याई हुन्थ्यो तर अहिले शून्य भएको अनुभव सुनाउनुभयो ।
हुन त आधुनिक तथा नयाँ डिजनाइनका गहना बनाउने कालीगढ अधिकांश भारतको पश्चिम बङ्गालका छन् । कोलकतामा स्थायी घर भई झन्डै दुई दशकदेखि नेपालको पोखरा र काठमाडौँमा गहना बनाउने समीर मण्डलको अनुभव श्रेष्ठ र महर्जनको भन्दा अलि फरक छ । उहाँको अनुभवमा यो बेलामा सामान्यतया थोरै अर्डर आउने गरेको र विवाह लगन सुरु भएपछि बिस्तारै बढ्दै जान्छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *