दाङ, १७ असार । घोराही बजार क्षेत्रमा भैरहेको पुनः कालोपत्रेको काम गुणस्तर भएपछि चौतर्फी विरोध सुरु भएको छ । घोराही बजारका विभिन्न ६ वटा सडकमा फेरी कालोपत्रे गर्ने कार्यका लागि सम्झौता गरेको ठेकेदार कम्पनीले गुणस्तरीय काम नगरेपछि घोराही उपमहानगरपालिकाले आलोचना सहनु परेको छ ।
चौतर्फी बिरोध भएपछि घोराही उपमहानगरपालिकाले निर्माण कम्पनीलाई गुणस्तरीय काम नगरेमा भुक्तानी रोक्ने चेतावनी दिएपछि ती सडकहरुमा पुनः कालोपत्रे गर्ने काम हुन लागेको हो । असार महिनाको अन्त्यमा आएर सडकमा पुनः गरिएको कालोपत्रे उम्किएको छ भने सडक झन जोखिमयुक्त बनेको छ । सडक पुनः निर्माणमा निर्माण कम्पनीले चरम लापरबाही गरेर गुणस्तरहिन काम गरेपछि सर्वसाधारणमा व्यापक गुनासो बढेको छ ।
सर्वसाधारणले सामाजिक सञ्जालमा यस्तो कार्यको खुलेर बिरोध गरिरहेका छन् । योजना अन्र्तगत घोराहीको गुलेरियादेखि आर्मी ब्यारेक जाने सडक, सुपरटोल (सहिदमार्ग) सडक, बैंक रोड, जिल्ला अदालत देखि भिंग्रेली चौकसम्मको सडक, टाउन प्लानका केहि सडकहरुमा गरिएको पुनः कालोपत्रे गुणस्तरहिन छ ।
निर्माण कम्पनीलाई घोराही उपमहानगरपालिकाले गुणस्तरयुक्त कालोपत्रे बनाउन आग्रह गरेको छ । सडकबाट अहिले गिट्टी सफा गर्ने र सडकमा गिट्टी बसेको नबसेको विस्तृत अध्ययन गरेर फेरी गिट्टी विछ्याउन आग्रह गरेको ईन्जिनिएर रामधन श्रेष्ठले बताउनुभयो । काम गुणस्तर नभए बजेट निकासा रोकिने उहाँको भनाई छ ।
असार मसान्त सम्म सिध्याउने गरी काम सम्झौता गरेको वेस्टर्न डेभलपमेन्ट कन्टूक्सन प्रालीले अहिले सडकबाट चिप्स (मसिनो गिट्टी) उठाउन थालेको छ । गिट्टी नबसेको सडकमा फेरी मर्मत नगरेसम्म बजेट निकासा नगर्ने घोराही उपमहानगरपालिकाले बताएको छ । ‘हामीले सोँचे जस्तो काम भएको छैन, गुणस्तरमा समस्या देखिएको छ, सबैबाट गुनासो समेत आएको छ ।’
घोराही उपमहानगरपालिकाका ईन्जिनिएर श्रेष्ठले भन्नुभयो, ‘सडकको सेप मिलाउने, खाल्डाखुल्डी नपुर्दासम्म बजेट निकासा रोकिने छ ।’
तर निर्माण कम्पनीका प्रतिनिधि गणेश थापाले गिट्टी विच्छ्याएका २४ घण्टासम्म कुनै पनि सवारीका साधन नचलाउनु पर्ने बताउनुभयो । तर यात्रु र सवारी चालकहरुले अटेर गरेर ठुला गाडीहरु चलाएका कारण, ब्रेक लगाएका कारण अलकत्राले गिट्टी समाउन नसकेको बताउनुभयो ।
घोराही उपमहानगरपालिकाको ३० प्रतिशत र नेपाल सडक बोर्डको ७० प्रतिशत लगानीमा गरिएको यो कार्यको लागि एक करोड २१ लाख रुपैयाको बजेट थियो । तर बाजुराको गढीमालिकाको वेस्टर्न डेभलपमेन्ट कन्टूक्सन प्रालीले ७२ लाखमा ठेक्का सम्झौता गरेको
थियो ।
सडक पुनः कालोपत्रे गर्नका लागि आबस्यक पर्ने निर्माण सामग्रीको अभाव भएका कारण काममा ढिलो हुन गएको थापाले बताउनुभयो । सडकमा पुनः कालोपत्रे (रिसिलिङ) गर्ने न्युनतम मापदण्ड समेत नअपनाईएको पाईएको छ । जस्का कारण पुरानो पिच देखिएको छभने ठाउँ ठाउँमा खाल्टाहरु बनेका छन्, सडक कतै उठेको, छ कतै भासिएको छ ।
सडकमा पुनः सडक कालोपत्रेका लागि राखिएको मसिनो गिट्टीका कारण अहिले सवारी दुर्घटना समेत बढेपछि स्थानीयबासीहरु आक्रोशित भएका छन् ।