दाङ, ११ साउन। आज दिउँसो ठूलो पानी पर्ने संभावना नभए पनि हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविद्ले बताएका छन् । मनसुनी न्यूनचापीय रेखा नेपाल नजिकै आउने भएकाले भोलि रातिदेखि धेरै ठाउँमा पानी परेर बाढी र पहिरोको जोखिम रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।
तर आज दिउँसोलाई भने ठूलो पानी वा लगातार वर्षाको संभावना कम रहेको उहाँले बताउनुभयो । उहाँकाअनुसार आज देशभरीकै मौसम सामान्य बदली भइ केही ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्नेछ ।
यस्तै राति प्रदेश १ र सुदूरपश्चिम प्रदेशको एक र दुई ठाउँमा चट्याङसहित ठूलो पानी पर्ने संभावना रहेको मौसमविद् कँडेलले बताउनुभयो । भोलि रातिदेखि मनसुन सक्रिय भई मंगलबार र बुधबार बाढी, पहिरो र डुबानको जोखिम भएकाले सकेसम्म यात्रा नगर्न, गर्नैपरे उच्च सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।
यसपटकको मनसुन सक्रिय भएपछि औसतभन्दा निकै धेरै पानी परिसकेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।