दाङमा पहिलो पोल्ट्री महोत्सव सुरु

दाङ, माघ १०। नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले मुलुकको समृद्धिका लागि कृषि क्षेत्रको विकास अपरिहार्य भएको बताउनुभएको छ । दाङको घोराहीमा बिहीबारबाट सुरु भएको प्रदेशस्तरिय पोल्टी महोत्सवको उद्घाटन गर्दै मन्त्री खनालले भन्नुभयो, ‘नेपाल कृषिप्रधान देश भएकाले कृषिको विकासबाट मात्रै समृद्ध मुलुक बनाउन सम्भव छ । यही दिशामा सरकार अगाडि बढिरहेको छ ।’

कृषिको विकासबाटै मुलुकको मुहार फेर्ने संकल्प सरकारले लिएको भन्दै कृषि मन्त्री खनालले सम्भावनाका आधारमा पकट क्षेत्र बनाएर कृषिको विकास गर्दै जाने बताउनुभयो । ‘सरकारले कृषिको विकासका लागि विभिन्न योजना अगाडि सारेको छ । सम्भावनाका आधारमा विभिन्न बालीनालीको पकट क्षेत्र बनाउँदै जाने योजनामा हामी लागिपरेका छौं’, मन्त्री खनालले भन्नुभयो, ‘कृषिलाई निर्वाहमुखी भन्दा पनि जीवनमुखी बनाउने दिशामा सरकार अगाडि बढिरहेको छ ।’

Blog Post Ad

Blog Post Ad

अबको १० वर्षभित्र भित्रमा मुलुक आत्मनिर्भर बन्ने भन्दै कृषि मन्त्री खनालले यसै वर्षदेखि आत्मनिर्भरताको यात्राको थालनी गरिसकेको बताउनुभयो । वर्तमान सरकार विगतको जस्तो म्यादी सरकार नभएको भन्दै मन्त्री खनालले अबको पाँच वर्षभित्र मुलुकको स्वरुप नै परिवर्तन भइसक्ने बताउनुभयो । ‘यो दशकलाई हामीले समृद्धिको दशकका रुपमा लिएका छौं । पाँच वर्षभित्र आत्मनिर्भरताको जग बसिसक्ने छ’, मन्त्री खनालले भन्नुभयो, ‘दश वर्षभित्रमा मुलुक पूर्णरुपमा आत्मनिर्भर बनिसक्नेछ ।’

घोराहीमा भएको अर्को फरक कार्यक्रममा बोल्दै मन्त्री खनालले कृषि क्षेत्रको विकासका लागि योजना निर्माण गरेर अगाडि बढ्नुपर्ने बताएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्दै उहाँले कृषि क्षेत्रमा अहिलेसम्म प्रभावकारी योजना निर्माण हुन नसकेको समेत बताउनुभयो ।

नेपालमा अहिले पनि परम्परागत खेती प्रणाली रहिरहेको भन्दै मन्त्री खनालले अब कृषिमा आधुनिकीकरण आवश्यक रहेको बताउनुभयो । नेपालमा ६६ प्रतिशत नागरिक कृषि पेशामा संलग्न भए पनि यसको विकास हुन नसकेको उहाँको भनाइ थियो । ‘२ तिहाइ जनसंख्या कृषिमा संलग्नता हँुदा पनि बाहिर पनि आयात गर्नुपर्ने बाध्यता रहेको छ’, मन्त्री खनालले भन्नुभयो, ‘अब कृषिलाई आधुनिक प्रविधिसँग जोडेर अगाडि बढ्नुपर्छ ।’

कृषि क्षेत्रको विकास गर्न सकिएमा विदेसिएका युवाहरुलाई स्वदेशमा नै रोजगार दिन सकिने बताउनुभयो । ‘कृषि क्षेत्रको विकास गर्नेसकेमा विदेसिएका धेरै युवाहरुलाई रोजगार दिन सकिन्छ’, मन्त्री खनालले भन्नुभयो । कार्यक्रम दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *