ओमप्रकाश गुप्ता
सिसहनियाँ, २२ पुस । जन्म दिन मनाउने तरिकामा फरक आइरहेका बेला दाङ देउखुरीको राप्ती गाउँपालिका २ बराखुट्टी निवासी मेनुका शर्माले पिपरीमा रहेको निलसागर सेवा आश्रममा रहेका ३१ जना बेसहरा,मानसिक रोगी तथा जेष्ठ नागरिक आमाबुवाहरूलाई सहयोग स्वरूप खाद्यान्नका सामान दिएर आफ्नो ५० औँ जन्म दिन मनाएकी छिन् ।
आश्रमकी शुभचिन्तक समेत रहेकी शर्माले २० केजी,४ केजी दाल,३ केजी अालु ,नुन लगायत खाद्यान्नका सामान दिएर जन्म दिन मनाएकी हुन् । जन्म दिनमा दिनदुखीहरुको सेवा तथा सम्मान गर्न पाउँदा आफुलाई निकै आनन्द आएको शर्माले बताइन् । जन्म दिनमा फाल्तु खर्च गर्नु भन्दा दुखी बुवाआमाहरुको सेवामा थोरै सहयोगले पनि उनीहरुमा केहि राहत पुगोस भन्नका लागि आफुले आश्रममा जन्म दिन मनाएको बताइन् ।
शर्मा हाल रेडक्रस लालमटियाको उपाध्यक्ष ,नम्बर निगरानी समुहको संयोजक,भृकुटी महिला विकास बचत तथा ऋण सहकारी संस्थाको लेखा समिति सदस्य लगायतका संघ संस्थामा आवद्व छिन् । अहिले सो आश्रममा जन्म दिन पर्ने व्यक्ति तथा वार्षिकउत्सव पर्ने संस्थाहरुले यहि आश्रममा जन्म दिन मनाउने तथा कार्यक्रम गर्ने गरेको संस्थाका दाङ जिल्ला अध्यक्ष प्रकाश विष्टले जानकारी दिएका छन् ।