घोराही, १९ पुस| घोराही उपमहानगरपालिका २ रामपुर स्थित शहरी स्वास्थ्य प्रबद्र्धन केन्द्र र योगा हलको उद्घाटन गरिएको छ । स्वास्थ्य मन्त्रालयको बजेटबाट निर्माण भएको दुई तल स्वास्थ्य प्रबद्र्धन केन्द्रको भवन र घोराही उपमहानगरपालिकाले बनाएको योगाहलको मुख्यमन्त्री शंकर पोख्रेलले उद्घाटन गर्नुभएको हो ।
एक करोड ३९ लाख रुपैयाँको लागतमा वनेको रामपुर शहरी स्वास्थ्य प्रबद्र्धन केन्द्रमा मेडिकल अधिकृत डाक्टर सहितको स्वास्थ्यकर्मीले सेवा दिन थालेका छन् । रामपुर क्षेत्रका नागरिकहरुलाई योग अभ्यास गर्नका लागि उपमहानगरपालिकाको ३० लाख रुपैयाँको लगानीमा योगाहल बनाईएको हो ।
नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षता एवं मुख्यमन्त्री शंकर पोख्रेल र संघिय सांसद सुजिता शाक्यको उपस्थितीमा भवनको उद्घाटन गरिएको हो । कार्यक्रममा मुख्यमन्त्री शंकर पोख्रेलले सेवाप्रबाहलाई भरपर्दो बनाउने तर्फ ध्यान दिन आग्रह गर्नुभएको छ । उपचार गर्ने मात्रै नभई स्वस्थ रहन अपनाउन सकिने उपायहरुका बिषयमा परामर्श दिन समेत स्वास्थ्यकर्मीहरुलाई आग्रह गर्नुभयो ।
स्वास्थ्य संस्थाहरु बिरामी जाँच्ने केन्द्र मात्रै हुन नहुने भन्दै उहाँले रोग नै लाग्न नदिने खालका सचेतना जगाउने तर्फ पनि केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नगर प्रमुख चौधरीले रोग लाग्नु भन्दा लाग्नै नदिने तर्फ सचेत रहनुपर्नेमा जोड दिनुभयो ।
स्वस्थ्य भए मात्रै जीवन सुखमय हुने भन्दै उहाँले खानपान, सरसफाई र शारिरीक अभ्यासमा बिषेश ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा केन्द्रका प्रमुख भुवनेश्वर रिजालले २०७२ सालमा महायज्ञ लगाएर रकम संकलन गरी ६ कठ्ठा जग्गा खरिद गरेको जानकारी दिनुभयो । आफुहरु स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने र स्वस्थ रहने विषयमा परामर्श समेत दिने तर्फ प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रमको सहजिकरण वडा अध्यक्ष केशबराज आचार्यले गर्नुभएको थियो । यस अघि स्वास्थ्य चौकी रहेको र जनप्रतिनिधीह? आएपछि उपमहानगरपालिकाले डाक्टर र ल्याव सहितको सेवा दिने गरी प्रबद्र्धन केन्द्रमा स्तर बृद्धी गरेको हो ।