घोराही, १० पुस | दाङका घोराही र तुलसीपुर कारागारमा स्वास्थ्यकर्मी नहुदा स्वास्थ्य उपचारमा समस्या भएको छ । क्षमता भन्दा तेब्बर सम्म कैदिबन्दी रहेका कारागारमा स्वास्थ्य जाँचका लागि स्वास्थ्यकर्मी नहुदा समस्या भएको कारागार प्रशासनले जनाएको छ ।
घोराही कारागारमा रहेका स्वास्थ्यकर्मी समायोजन भएर गएपछि गएको असोज देखी स्वास्थ्यकर्मी बिहिन भएको जेलर बिष्णु पाण्डेले जानकारी दिनुभयो । चिसोका कारण रुघाखोकी, हातखुट्टा दुख्ने, ज्वरो आउने, टाउको दुख्ने जस्ता समस्याहरु कैदीबन्दीमा देखिएको उहाँको भनाई छ ।
दरबन्दी अनुसार स्वास्थ्यकर्मी कारागारमा नआएको र बिरामीहरुलाई अस्पताल ल्याउदा लैजादा खर्च बढ्नुका साथ असहजता आएको कारागार प्रशासनले जनाएको छ ।
चालु आर्थिक बर्षमा आएका एक लाख ८० हजार रुपैयाँ बजेटमा अहिले सम्म साढे एक लाख रुपैयाँ उपचार खर्चमा सकिएको जेलर पाण्डेले जानकारी दिनुभयो । घोराही कारागारमा अहिले सवा ३ सय कैदीबन्दी रहेका छन् ।
उता तुलसीपुर कारागारमा पनि गत असोजमा दरबन्दीका स्वास्थ्यकर्मी समायोजन भएर गएपछि उपचारमा समस्या भएको जेलर जोखिम ओलीले बताउनुभयो । तुलसीपुर कारागारमा बार्षिक उपचार खर्च ६ लाख रुपैयाँ आउने गरेको छ । तुलसीपुर कारागारमा ३ सय ७६ जना कैदीबन्दी रहेका छन् ।