दाङ , ४ असार | दाङमा ५ नम्बर प्रदेश सरकारले उपलब्ध गराएका सीप तथा क्षमता विकास सम्बन्धि विभिन्न कार्यक्रम सम्पन्न भएका छन् । ५ नम्बर प्रदेश सरकार सामाजिक विकास मन्त्रालय संगको सहकार्यमा जिल्ला स्थित जनउत्थान समाज विकास केन्द्र दाङका विभिन्न स्थानमा यस्ता कार्यक्रम सञ्चालनमा ल्याएका हो ।
केन्द्रका कार्यकारी प्रमुख कुल बहादुर डाँगीले प्रदेश सरकारले सीमान्तकृत, पीछडिएका तथा उत्पीडित समुदायलाई लक्षित गरी यस वर्ष दाङका लागि १५ लाख बराबरको बजेट विनियोज गरेको र सोही अनुरुपका कार्यक्रमहरु सम्पन्न भएको जानकारी दिए । प्रदेश सरकारले केही ढिला गरी बजेट पठाएता पनि आफुहरुले समयमा नै काम सम्पन्न गर्न सफल भएको उनले जानकारी दिए ।
केन्द्रका कार्यकारी प्रमुख डाँगीका अनुसार जिल्लाका विभिन्न स्थानमा मुढा बनाउने, अल्लोसंग सम्बन्धित सामग्रि उत्पादन गर्ने तथा क्षमता विकास सम्बन्धि तालिमहरु सम्पन्न भएका छन् । जसअनुसार राप्ती गाउँपालिका—६ बगरापुरमा जेष्ठ १५ गते देखी ३१ गते सम्म २५ जना महिलालाई बाँसका मुढा बनाउने तालिम प्रदान गरिएको छ । तालिममा गोपीलाल सुबेदीले प्रशिक्षण दिएकी थिइन । यस्तै घोराही उपमहानगरपालिका — १८ फुर्सेखालीमा दङ्गाली अल्लो उत्पादन समुह अन्तर्गतका ३० जना महिलालाई २० दिने अल्लोको धागो तथा कपडा उत्पादन सम्बन्धि तालिम प्रदान गरिएको छ ।
यस्तै राप्ती गाउँपालिका— ६ बगरापुरमा ३५ , घोराही १८ फुर्सैखालीमा ४० र राप्ती गाउँपालिका — २ बराखुट्टीमा ४० जनालाई १ दिने क्षमता विकास सम्बन्धि तालिम पनि प्रदान गरिएको छ ।
त्यस्तै राप्ती गाउँपालिका — ६ बगरापुर मुक्त कमैया समुहका ३५ जना, घोराही १८ फुर्सेखालीका ३९ जना, राप्ती गाउँपालिका— २ बराखुट्टी ३५ जना र घोराही — १६ सानी अम्बापुर स्थित मुक्त कमैया बस्तीका ३७ जनलाई ३ दिने उद्यमशिलता विकास सम्बन्धि तालिम प्रदान गरिएको छ । उद्यमशिलता सम्बन्धि तालिम प्रशिक्षक टेकबहादुर चौधरी, भिम बहादुर बस्नेतले दिनुभएको कार्यकारी प्रमुख डाँगीले जानकारी दिए ।