देशमा लकडाउन सकिए लगतै दाङका पर्यटकिय गन्त्वय स्थलमा चहल-पहल शुरु भएको छ । प्रदेशकै केन्द्रविन्दु दाङ जिल्ला पर्यटकीय गन्तव्यको रुपमा विकास हुन थालेको छ । समुद्री सतहबाट होचोमा २ सय १३ मिटर र अग्लोमा २ हजार ५८ मिटरको उचाइमा रहेको दाङ प्राकृतिक रुपमा मात्र नभई सामाजिक, सांस्कृतिक, आर्थिक र पर्यावरणीय सम्पत्तीले भरिपूर्ण जिल्ला हो ।
एशियाकै ठूलो उपत्यका दाङ विश्वमै चर्चित स्वर्गद्वारीको आधारभुमिका रुपमा परिचित छ, भने आदिबासी थारु समुदायको राजधानीका रुपमा महत्वपूर्ण क्षेत्र मानिन्छ । विश्वकै अग्लो त्रिशुल स्थापना गरिएको धार्मिक क्षेत्र पाण्डेश्वर मन्दिर धारापानीदेखि प्राकृतिक पर्यटकीय क्षेत्र शिखर सवारीकोटसम्मका अपार सम्पदाहरु रहेको दाङ यसक्षेत्रकै पर्यटकीय हवका रुपमा विकास हुन थालेको छ ।
भौगोलिक सुन्दरता, प्राकृतिक मनोरम दृश्य, चुरे महाभारत क्षेत्रको सौन्दर्य, सुन्दर फाँट, नदी, ताल तलैया र ऐतिहासिक एवं धार्मिक मन्दिरहरु, ऐतिहासिक सांस्कृतिक सम्भावनाका कारण दाङ पटक–पटक चर्चामा समेत आउने गरेको छ । तर, पर्यटनको उत्कृष्ट सम्भावनायुक्त दाङमा पर्यटन क्षेत्रका कार्यक्रम परिणाममुखी बन्न नसकेको पाइएको छ ।
जिल्लाको पर्यटन प्रबर्धन तथा विकासका लागि वार्षिक २ करोड भन्दा बढि बजेट खर्च हँुदै आएको जिल्ला विकास समितिको तथ्यांक छ । निजी क्षेत्र र सरकारी क्षेत्रबाट हँुदै आएको लगानीमा एकरुपता नहँुदा बजेट कनिका छरेझंै हुने गरेको सरोकारवालाहरु बताउँछन् । मुख्यतया पूर्वाधार क्षेत्रमा सरकारी लगानी न्यून अनि निजी क्षेत्रलाई विश्वासमा लिन नसक्नु समस्या रहेको उनीहरुको भनाइ छ ।
अहिले निजी क्षेत्रले होटेल बाहेक अन्य क्षेत्रमा लगानी गर्न नसकेको उद्योग वाणिज्य संघले बताएको छ । पर्यटन क्षेत्रमा लगानी लगाउँदा तत्काल यसबाट नाफा नहुने भएकाले जोखिम मोलेर यो क्षेत्रमा लगानी गर्न व्यवसायीहरु ईच्छुक नदेखिएको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष हेमराज बञ्जाडेले जानकारी दिनुभयो ।
अहिले सरकारले जिल्लामा गर्दै आएको लगानीबाट कुनै परिणाम देखिन सकेको छैन । वार्षिक रुपमा करिव २ करोड बजेट पर्यटनका क्षेत्रहरुमा लगानी हँुदै आए पनि त्यसबाट प्रभावकारी परिणाम प्राप्त हुन नसकेको हो । सरकारले नीति तथा कार्यक्रम ल्याउने र आवश्यकीय पूर्वाधारमा लगानी गर्ने भए पनि निजी क्षेत्रले पर्यटनको क्षेत्रमा अपेक्षाकृत लगानी गर्न नसकेको जिल्ला विकास समिति दाङका पर्यटन शाखा प्रमुख डा. गोविन्द आचार्यले बताउनुभयो ।
सरकारी लगानी, निजी क्षेत्र, समुदाय स्तरबाट पर्यटनको क्षेत्रमा उत्साहपूर्ण लगानी भए पनि व्यवस्थित गुरुयोजना तथा आगामी कार्यक्रमको खाका नहँुदा पर्यटनको क्षेत्रमा काम गर्ने निकायहरु नै अन्यौलमा पर्ने गरेका छन् । विभिन्न निकायहरुको आआफ्नै कार्यक्रम हँुदा दाङको पर्यटन क्षेत्रले गति लिन नसकेको पर्यटनको क्षेत्रमा काम गर्ने निकायहरुले बताएका छन् ।
यी हुन् पर्यटकीय मठमन्दिर
जिल्लामा धेरै पहिलेदेखि हिन्दु धर्मावलम्बीहरु भएकाले यहाँका धार्मिक स्थलहरुमा हिन्दु धर्मसँग सम्बन्धित निकै पुराना ऐतिहासिक दृष्टिकोणले समेत महत्वपूर्ण धर्मिक संघसंस्थाहरु तथा मठमन्दिरहरु रहेका छन् । अद्वैत संस्थाको घोराहीको अञ्चल सत्संग र तुलसीपुरको दुधेनामा रहेको जिल्ला सत्संग मन्दिरका साथै जिल्लाका गाउँगाउँमा २५ भन्दा बढि शाखा र उपशाखाहरु रहेका छन् । जहाँ विभिन्न समय समय महासत्संग आयोजना हँुदै आएको छ ।
यस्तै घोराही–५ अम्वापुरमा रहेको अम्विकेश्वरी मन्दिरलाई माईथान पनि भन्ने गरिन्छ । मन्दिर स्थापना कहिले भएको हो भन्ने उल्लेख नभए पनि १७२८ मा चढाइएको घण्टाले प्राचिन मन्दिर भएको बताउँछ । गणेश मन्दिर, शिव मन्दिर, सरस्वती, रामजानकारी, कीर्तन कक्ष, यज्ञमण्डपको साथै बगैचा र पार्कले मन्दिरलाई सुन्दर बनाएको छ ।
यस्तै घोराही ११ ट्राफिक चौकमा रहेको ओम शिरडी साई मन्दिर पनि पर्यटन सम्भावनाले युक्त क्षेत्र हो । जहाँ गणेश मन्दिर, यात्री मन्दिर, यज्ञकुण्ड रहेको छ । यस्तै घोराही–५ को मसिनामा रहेको कालिका मन्दिर भगवती मन्दिर आज भन्दा करिव ३ सय वर्ष पुरानो मन्दिरका रुपमा परिचित छ । उता हापुर–९ को नारेबांगमा रहेको गढीटाकुरा देवस्थलमा दसँैमा ठूलो मेला लाग्छ ।
त्यस्तै देउखुरीको गोवरडिहामा रहेको बाघनाथ बाबा मन्दिर पनि महत्वपूर्ण मन्दिर हो । यसको साथै चैलाहीको डुमडुमवा, हाँसीपुर–४ देविकोटका रहेको देविकोट मन्दिर, घोराही–६ को नम च्छु बौद्ध गुम्वा, धर्ना–१ धारापानी स्थित पाण्डवेश्वर मन्दिर, सतवरिया–८ रिहारस्थित बगारबाबा धार्मिक स्थल पर्यटकीय सम्भावनाले युक्त क्षेत्र रहेका छन् ।
त्यस्तै जिल्लाको ढिकपुर–४ नारायणपुर पर्सेनीमा यने बराहक्षेत्र बासुदेव स्थान लरैना, तुलसीपुर–६ मा पर्ने, ब्रह्मकुमारी ईश्वविद्यालय, स्यूजा –८ उजामा रहेको बागेश्वरी मन्दिर, घोराही–७ सेवारमा रहेको बाह्रकुने मन्दिर, तलसीपुर–९ दुधेनामा रहेको राधाकृष्ण कन्दिर, कोइलाबास–२ मा पर्ने रामजानकी मन्दिर, बेला गाविस–२ मा पर्ने समयठान, धर्ना गाविसको सर्रिकोट, उरहरी–२ शितलपुरमा रहेको सिद्धेश्वर शिव मन्दिर, शान्तिनगरको सुन्दरादेवि भगवती मन्दिरलगायतका धार्मिक स्थलहरु पर्यटकीय गन्तव्यका रुपमा रहेका छन् ।
धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्र
समुद्र सतहदेखि करिव १८०० मिटर उचाईमा रहेको गढीलेक रामपुर–५ र काभ्रे–३ को बीचमा रहेको छ । यसको ऐतिहासिक महत्व पृथ्वीनारायण शाहले गरेको नेपाल एकीकरण अभियानसँग सम्बन्धित छ । अभियानका क्रममा बहादुर शाहले नेतृत्व गरेको गोर्खाली फौजले पश्चिम नेपाल तर्फको युद्धको बेला निर्माण गरेको भनिएको छ ।
त्यस्तै विजौरी–९ मा रहेको छिल्लीकोट समुद्री सतहदेखि १४७५ मिटरको उचाईमा रहेको छ । १५ आंै शताब्दीमा जुम्लाका चल्ल बंशिय राजाले दाङका दंगीशरण राजाबाट यो क्षेत्र कब्जा गरेर कोट नामबाट शासन गरेको ईतिहास रहेको छ । त्यस्तै फूलबारी गाविसको तुईवाङ उपत्यकाको दक्षिण पश्चिमको पहाडमा रहेको टाकुरा जुम्लीकोट नामको ऐतिहासिक स्थल रहेको छ । त्यस्तै हापुर–४ मा धौलुवगिया ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण क्षेत्र रहेको छ । चन्द्रकोटे राजा राजगुरु धौलुको नामबाट त्यो क्षेत्र नामाकरण गरिएको छ ।
त्यस्तै गोल्टाकुरी–३ बबई नदीको दक्षिणी तटमा रहेको बाह्रबर्डिउन्हक लठ्ठा रहेको छ, भने विजौरी–८ मा बाँसगढी, हेकुली–८ मा बुलबुल्या, नारायणपुर–८ मा मन्ठो¥या क्षेत्र, लक्ष्मीपुर–५ को सवारीकोट, श्रीगाउँ–९ को सिद्धभवन्तनाथ समाधी, घोराही–४ चौघेराको सिद्धरत्ननाथ पिठ, तुलसीपुर उरहरी सुकौराकोटलगायतका क्षेत्र ऐतिहासिक, पुरातात्वितक महत्वले भरिपूर्ण क्षेत्रका रुपमा रहेका छन् ।
प्राकृतिक सम्पदाहरु
दाङका पर्यटकीय सम्पदाहरु मध्य प्राकृतिक रुपमा विकास भएका सम्पदाहरु पनि जिल्लामा रहेका छन् । जिल्लाका विभिन्न स्थानमा रहेका तालतलैया, दह, गुफा, झरनाहरु पर्यटकीय गन्तव्यका रुपमा रहेका छन् । रामपुर–८ करमकोटमा रहेको किचेनी दह, तुलसीपुर टरिगाउँस्थित गौरीगाउँ ताल, रामपुर–७ बुकामा रहेको चरिंगे दह, घोराही–८ स्थित ज्यामिरे दह, रामपुर–७ मा रहेको भोटे दह, देउखुरीको जखेरा ताल, हलवार–५ स्थित चमेरे गुफा, स्यूजा–४ मा रहेको धिमधिमे लेक, बंगलाचुली लेक, पुरन्धारा–८ मा रहेको पुरन्धारा छहरा, तुलसीपुर–३ स्थित राप्ती शान्ति उद्यानलगायतका प्राकृतिक सम्पदाहरु पर्यटन गन्तव्यका रुपमा रहेका छन् ।