एचआईभी संक्रमितको संघर्षको एसईई यात्रा

दाङ, चैत्र ३ । एसईई आउने दिन नजिकिँदा बैतडीकी उनी निधारको खत झलझली सम्झन्छिन् । आमा बुबा दुवै एचआईभी एड्सले गुमेपछि उनी फुपू नाता पर्नेको घरमा बस्थिन् । नजिकैको विद्यालयमा पढ्न गइन् । पाँच वर्षकी थिइन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

संक्रमित आमाबुबाबाट जन्मिएकी उनी पनि संक्रमित भएको विद्यालयका शिक्षक र विद्यार्थीले थाहा पाएपछि ढुंगाले हानेरै लखेटे । त्यसपछि उनी विद्यालय जानै छाडिन् । ढुंगा लाग्दा भएको चोटले निधारमा चन्द्रमा आकारको खत अझै छ ।

आठ वर्षकी हुँदा काठमाडौंको कीर्तिपुरस्थित बेबी लाइफ होमको संरक्षणमा आइपुगिन् । उनका साथी थिए दाङ पञ्चकुलेका दाजु–बहिनी । उनीहरू पनि संक्रमित नै थिए । एचआईभी संक्रमण भएकै कारण उनीहरूले पहिले आमा गुमाए, त्यसपछि बुबा बितेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

बिचल्ली परेपछि उनीहरू पनि कीर्तिपुरको संरक्षण गृहमा आइपुगेका थिए । त्यस्तै दाङ गुरुङखोलाका अर्का एक बालक पनि बेबी लाइफ होमको आश्रयमा आइपुगे । १० वर्षअघि होमको सम्पर्कमा आउनेमा उनीहरूसहित १० जना थिए ।

लाइफ होमका संस्थापक अध्यक्ष राजकुमार पुन र उपाध्यक्ष उमा गुरुङ उनीहरूलाई नियमित उपचारसहित पढाउने स्कुलको खोजीमा निस्के । कीर्तिपुरका निजी र सामुदायिक विद्यालय सबै चहारे तर कसैले पढाउन चाहेनन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

‘विद्यालयमा संक्रमितलाई पढाउँदा अरू विद्यार्थी घट्ने भन्दै कसैले पढाउन चाहेनन्,’ अध्यक्ष पुन भन्छन्, ‘यिनीहरूलाई पढाउन नपाएपछि पहिचानसहितको विद्यालयको लडाइँ सुरु गरें । धेरै संघर्षपछि उनीहरूका लागि विद्यालय खोल्न सक्यौं ।’ त्यही विद्यालयमा तीन कक्षाबाट पढ्न सुरु गरेका बैतडीकी बालिका र दाङका दुई बालक बिहीबारदेखि सुरु हुने एसईई परीक्षामा सहभागी हुँदै छन् ।

आमाबुबाको गल्तीले उनीहरू संक्रमित भए पनि विद्यालयको वातावरणले सबै भुलेका छन् । ‘यो निधारको चोट पढ्न जाँदा अबदेखि नआउनू भनेर ढुंगाले हान्दा लागेको थियो । एसईई दिने दिन जति नजिक आउँदै छ त्यति नै त्यो बेला पढ्न नपाएको कुरा सम्झेर पढ्न जाँगर लाग्छ,’ बालिकाले भनिन्, ‘मिहिनेत गरिराछु । अरूभन्दा नतिजा कमजोरचाहिँ ल्याउँदिनँ ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *