दाङ जिल्ला पाँच नम्बर प्रदेशको सुगम एवं विकसित जिल्ला हो । यस जिल्लाको दक्षिणमा भारतको उत्तर प्रदेश, पूर्वमा प्युठान, अर्घाखाँची र कपिलवस्तु जिल्ला, उत्तरमा सल्यान, प्युठान, रोल्पा जिल्ला र पश्चिममा बाँके र सुर्खेत जिल्ला पर्दछन् । विभिन्न धरातलीय बनावटले घेरिएको यो जिल्ला समुद्र सतहदेखि २१३ मिटर उचाइबाट शुरु भई २०५८ मिटर उचाइसम्म फैलिएको छ । यो जिल्लाको कूल क्षेत्रफल ३०५९.८१ वर्ग किलोमीटर रहेको छ ।
यस जिल्लाको पूर्व पश्चिम लम्बाई ९० कि.मि.र उत्तर दक्षिण चौडाइ ७२ कि.मि.छ । यस जिल्लामा कूल २ उपमहानगरपालिका १ नगरपालिका एवम् ७ गाउँपालिका छन् । यस जिल्लाको सबैभन्दा कम उचाइ भएको ठाउँ सिसहनियाको भानपुर हो, जुन समुद्र सतहदेखि २१३ मिटर उचाइमा रहेको छ । त्यस्तै यस जिल्लाको सबैभन्दा अग्लो उचाइमा रहेको ठाउँ हाँसीपुरको अर्खले हो, जुन समुद्र सतहदेखि २०५८ मिटरको उचाइमा रहेको छ ।
उल्लेख्य संख्यामा थारुहरू बस्ने दाङमा पहिले औलो लाग्ने भएकोले थारुहरूको मात्र बस्ति थियो तर औलोको औषधि हुन थालेपछि बिभिन्न जातका मान्छेहरू बसाइ सरे। दाङ देउखुरीमा पहिले थारु राज्य थियो भन्ने धेरै प्रमाणहरु छन् ।भौगोलिक विविधता जस्तै जातिय, भाषिक एवम् सांस्कृतिक, विविधता धार्मिक एवम् प्राकृतिक सम्पदाले धनि छ दाङ । जसले धार्मिक पर्यटनको ठुलो सम्भावना वोकेको छ । सदाबहार बगिरहने ठुला दुई बबई र राप्ती नदि ।
यी नदीहरु बाहेक यस जिल्ला भएर वग्ने खोला नालाहरुमा कटुवा खोला, सिस्ने खोला, सेवार खोला, हापुर खोला, पत्रे खोला, संग्राम खोला, ग्वार खोला, पातु खोला, अर्जुन खोला, आदि प्रमुख हुन् । प्रमुख ताल, तलाउ तथा दहहरुमा बाह्रकुने दह, तप्त कुण्ड, जखेरा ताल, चरिङ्गे दह, भोटे दह, किचेनी दह, ज्यामिरे दह, पर्दछन्, भने पुरन्धारा छहरा र सुन छहरा यस जिल्लाका प्रमुख झरनाहरु हुन् ।
तीन वटा ठुला सिमेन्ट उद्योग, प्रशस्त चुन खानी । दाङको पहाडी क्षेत्रमा प्रयाप्त रुपमा रहेको चुनढुंगा भएका कारणले यहाँका उद्योगहरु फस्टाईरहेका छन् । प्रयाप्त रुपमा खेती योग्य जमीन जसले गर्दा कृषिमा आत्मनिर्भर छ दाङ । धान, गहुँ, मकै, तोरी जस्ता मुख्य अन्नवालीमा आत्मनिर्भर छ ।
दाङ जिल्ला एशियाको मात्र ठूलो उपत्यका नभई संसारका ठूला उपत्यका मध्येको एक हो । भौगोलिक हिसाबले दाङ जिल्लामा दुई वटा प्रमुख उपत्यका छन् दाङ र देउखुरी । भौगर्भिक प्रक्रियाको परिणाम भौगोलिक संरचनाको स्थापना हुन्छ । भूगोलको निर्माणस‘गै प्राकृतिक सम्पदाको निर्माण हुन्छ र यी सम्पदाहरुको सिर्जनासँग मानव सभ्यताको विकास भएको हुन्छ ।
आजको आधुनिक युगमा यी सिर्जनाहरुको उपयोगको क्रममा पर्यटकीय स्थलको विकास हुने क्रम जारी छ । दाङ जिल्लाका प्रमुख पर्यटनस्थल जो दाङका मात्र नभई देशकै महत्वपूर्ण सम्पदा हुन्, यिनीहरुको पहिचान पहिलो आवश्यकता हो भने यी पर्यटकीयस्थलको प्रचार र विकास अर्काे पक्ष हो । गणतन्त्र दैनिकको बार्षिकोत्सवको अबसरमा जिल्लाको पर्यटकीय स्थलहरुको बारेमा आधारभूत रुपमा चर्चा गरिएको छ ।
प्राकृतिक पर्यटकीय स्थल
हावापानीले अति नै उपयुक्त जिल्लाको रुपमा रहेको दाङ देउखुरी उपत्यकामा मन नै लोभ्याउने पर्यटकीय स्थलहरु छन् । देउखुरीमा राप्ती नदी र दाङ उपत्यकामा बबई नदीको बहावले अति नै सुन्दर बनाएको छ । अहिले राप्तीमा जलयात्रा गर्ने पुर्वाधार बनेको छ, घोराहीको ज्यामिरे ताल, बाह्रकुने ताल र देउखुरीको जखेरातालमा जलयात्रा गर्न सकिन्छ ।
साथै रमणीय दृश्यावलोकन गर्न सकिन्छ । चरिंगे दह, भोटेदह, पुरन्धाराको छहरा, हलवारस्थित नेपालकै ठूला गुफामध्येको एक चमेरे गुफालगायतका पर्यटकीय गन्तब्यहरु प्रमुख छन् । मुर्कुटीदेखि कमिरेचौर हुँदै स्युजा तथा सैघाको उच्च भूभागबाट देखिने मनास्लु, अन्नपूर्ण, माछापुच्छे्र, निलगिरि, धौलागिरि, सिस्नेहिमाल तथा कान्जिरोवा हिमश्रृंखलाको दृश्य सहजै रुपमा हेर्न सकिन्छ ।
धार्मिक पर्यटकीय स्थल
वितेको पाँच् वर्षमा धारापानी स्थित पाण्डवेश्वर मन्दिर धामको विकास र पुर्वाधार निर्माणले कोल्टो फेरेको छ । विश्वकै सबै भन्दा अग्लो त्रिशुल स्थापित पाण्डवेश्वर मन्दिर धारापानी पौराणिक कालसँग जोडिएको धार्मिक गन्तब्य मात्र हैन, धार्मिक पुर्वाधारले भरिपुर्ण क्षेत्रको रुपमा विकास गर्न थालिएको छ ।
बराहक्षेत्रको नेपालकै उपयुक्त गन्तब्यको रुपमा रहेको बाह्रकुने धार्मिक क्षेत्र, नेपाल भारतको सम्बन्धलाई प्रगाढ बनाउने चौघेरा स्थित गोरक्ष रत्ननाथ मन्दिर जिल्लाका चर्चित क्षेत्रहरु हुन् । देउखुरी उपत्यकाको वरिपरि अवस्थित रिहार क्षेत्र, हाँसीपुरको देवीकोट स्थित देवीको मन्दिर, धानखोलाको शिवमन्दिर एवं दाङ उपत्यकाको अम्बिकेश्वरी मन्दिर, स्युजाको उघास्थित देवीको मन्दिर, हाँसीपुरस्थित अर्जुनखोलामा रहेको साँवरी सिद्धबाबाको थानप्रमुख धार्मिक पर्यटकीय स्थल हुन् ।
सांस्कृतिक पर्यटकीय स्थल
थारु समुदायको आदिभुमी, मगर समुदायको कलासंस्कृति, लोपन्मुख समुदायहरु कुसुण्डा, रोउटेको विविध संस्कृति, अवधी भाषा र संस्कृतिका तमाम सम्पदाहरुले भरिएका छन् । रिहार तथा बाह्रकुनेको माघे संक्रान्तिको मेला, चौघेराको मेला, धर्नास्थित धारपानी तथा देउखुरीको धानखोलामा महाशिवरात्रिमा लाग्ने मेला, काभ्रेस्थित मुलाबारीको मंसिरको अन्तिम दिन लाग्ने चिउरीजात्रा, स्युजाको काउलेपानीमा लाग्ने दशैंको पुर्णिमाको मेला तथा हलवारको पर्सेनीमा लाग्ने मेलाहरु प्रमुख सांस्कृतिक पर्यटकीय स्थल हुन्, जहाँ स्थानीय कला संस्कृतिको साथै उत्पादनको प्रदर्शनी र प्रचार हुनुको साथै साथीभाइ, आफन्तहरुको भेटघाट एवं मनोरञ्जन गर्ने साझा थलोको रुपमा परिचित छन् ।
देशका प्रमुख ब्यापारिक स्थानमा महोत्सवको आयोजना गरिन्छ, जहाँ कला, संस्कृति, स्थानीय उत्पादनको प्रदर्शनीका साथै अन्य कुराको जानकारी गराइन्छ । लामो समयदेखि जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिएका संग्रालय, होमस्टेले पनि पछिल्लो समय पर्यटकहरु तान्ने गरेको छ ।
ऐतिहासिक पर्यटकीय स्थल
दाङ जिल्ला आफैमा एक ऐतिहासिक महत्वको संगमस्थल हो । उरहरीस्थित थारु राजा दंगीशरणको दरबारको भग्नावशेष, छिल्लीकोटस्थित प्राचीन दरबारको भग्नावशेष, काभ्रेको जुम्लेपानीस्थित गढीछेडाको किल्ला, काभ्रेको ओखलढुंगास्थित प्राचीन स्मारक, सरिकोट तथा सवारीकोटस्थित प्राचीन दरवारका भग्नावशेषलगायतका स्थलहरु ऐतिहासिक पर्यटकीय स्थलहरु हुन् । पछिल्लो समय स्थानीय सरकारले ऐतिहासिक स्थलहरुको पुर्ननिर्माण, पुर्नउत्खनन र संरक्षणका लागि चासो दिएका छन् । दाङ जिल्लाको इतिहास थापा पाउन ति स्थलहरुको अवलोकन जरुरी देखिन्छ ।
खनिज र औद्योगिक पर्यटकीय स्थल
दाङको उत्तरी क्षेत्रमा प्रसस्त कोईला र चुनढुंगाको खानी रहेका छन् भने दक्षिणी क्षेत्रमा ग्यास र पेट्रोलखानी रहेको तथ्य अहिले पनि देख्न सकिन्छ । राणाकाल देखि नै खानी उत्खनन्को लागि भएका प्रयासहरु अहिले पनि सफल हुन सकेका छैनन् भने अहिले सिमेन्ट उत्पादनका लागि चुनढुंगा ब्यापक मात्रामा उत्खनन भैरहेको छ । त्यसकारण दाङ जिल्लामा प्रशस्त धातु तथा गैरधातुजन्य खनिज पदार्थको भण्डार छ । यसको प्रयोग गरी सिमेण्ट तथा कृषि चुन उद्योगको सम्भावना छ र केही सिमेण्ट उद्योगहरु सञ्चालित भइरहेका छन् । अरु पनि सञ्चालनको प्रक्रियामा छन् । यसबाहेक कोइलाको भण्डार पनि उल्लेख्य मात्रामा छ । कतिपय ठाउँ उत्खनन् पनि भइरहेको छ । यसको साथै तामा, फलाम, सिसा र जस्ताहरुको भण्डारण पनि छन् । वैज्ञानिक अध्ययन र अनुसन्धान, अवलोकन एवं उत्पादनको लागि यो जिल्ला एक औद्योगिक पर्यटनस्थल हुन सक्छ ।
शैक्षिक तथा भौगर्भिक पर्यटकीय स्थल
नेपालको एकमात्र र पहिलो प्राचीन भाषा संस्कृतिको प्रबद्र्धन गर्न स्थापित संस्कृत विश्वविद्यालय एक प्रमुख शैक्षिक पर्यटकीय स्थल हो । यसबाहेक भौगर्भिक अध्ययनको लागि भौगर्भिक संरचनाहरुको प्रचुरता भएका दाङ तथा देउखुरी उपत्यका वरिपरिका क्षेत्रहरु शैक्षिक पर्यटकीयस्थल हुन् जहा‘ विभिन्न विश्वविद्यालयका इञ्जिनियरिङ तथा भूगर्भशास्त्रका विद्यार्थीहरु अध्ययन अनुसन्धानका लागि आउने गरेका छन् र भविष्यमा अझै आउन सक्छन् ।
कृषि पर्यटकीय स्थल
दाङ जिल्ला कुनै बेला तोरीको लागि प्रख्यात थियो र यसको उपादेयता यद्यापि कायम छ । यहाँको हावापानी यसको लागि अनुकूल छ । साथै धान, गहुँ, मकै पनि राम्रोसँग उत्पादन हुन्छन् । यसका साथै पशुपालन खासगरी परम्परागतरुपमा गरिदै आएको भैंसीपालन, मौरीपालनको साथै अत्याधुनिकरुपले गर्न सकिने माछा पालनको प्रशस्त सम्भावना देखिन्छ । यसको लागि अनुसन्धान केन्द्र स्थापना गरी देश विदेशका कृषि पर्यटकलाई आकर्षित गर्न सकिन्छ ।