नवीन अभिलाषी
दाङ, माघ ७ । घोराही उपमहानगरपालिका वडा नं. १८ अम्बापुरमा रहेको अम्विकेश्वरी मन्दिरको पुर्ननिर्माण सकिएको छ । अढाई सय वर्ष पुरानो दाङको प्रसिद्ध धार्मिक पर्यटकिय क्षेत्र अम्विकेश्वरी मन्दिरले मुहार फेरेको छ । मन्दिरको संरचना नै परिवर्तन गरेर ठुलो र अग्लो बनाईएको छ ।
मन्दिरको नयाँ संरचना निर्माण नेपालको पुरानो शैली र प्रविधिमा गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कुमद पोख्रेलले बताउनुभयो । नेपालको पुरानो सुर्की प्रविधिबाट प्यागोडा शैलीमा मन्दिर निर्माण गरिएको उहाँको भनाई छ ।
नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय अन्र्तगत पुरातत्व विभागले मन्दिरको निर्माण गरेको हो । २०७४ माघ २९ गते ठेक्का सम्झौता भएको मन्दिर सम्झौता समयमै सम्पन्न भएको छ । दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी प्राकृतिक ÷सानु सुवाल ÷पवन जेभीले निर्माण गरेको हो । ३ करोड ६१ लाख ५९ हजार ७ सय १३ रुपैयामा ठेक्का भएको मन्दिरको उद्घाटन भने भएको छैन ।
नयाँ मन्दिर निर्माण पश्चिात अब पुजापाठका लागि दर्शनार्थिहरुले पहिले जस्तो समस्या भोग्नु नपर्ने भएको छ । मन्दिरको पुरानो संरचना ढुङगा, माटो, वालुवा र ईट्टा प्रयोग गरी २०३२ सालमा निर्माण गरिएको मन्दिरलाई पुर्ण रुपमा भत्काएर नयाँ ३२ फिट अग्लो मन्दिर निर्माण गरिएको हो ।
‘मन्दिर आकर्षक, कलात्मक, सुन्दर र पुरानो प्रविधिलाई प्रोत्साहन गर्ने गरी मन्दिरको निर्माण भएको छ, हेर्दा पनि भब्य देखिन्छ, करिव ३२ फिट मन्दिरको उचाई छ ।’ पोख्रेलले जानकारी दिनुभयो ।
पहिले जस्तो इटा, छड, माटो, सिमेन्ट, गुट्टी, काठलगायतका बस्तुवाट मन्दिर बनेको थियो भने अहिले सिमेन्ट, गिट्टी, छड लगायतका सामाग्रीहरु प्रयोग गरिएको छैन । ढुङगा, चुना, सुर्की, काठवाट मन्दिर बनेको छ र मन्दिरको छाना तामाको छ । मन्दिर निर्माणकालागि भक्तपुरवाट आएका दश जनाले बनाएको मन्दिरमा प्रयोग भएका टुडाल, झयाल, ढोकाहरु समेत आकर्षक छन् ।
ती टुडाल, झ्याल र ढोकाहरुमा कलात्मक मुर्तिहरु कुदिएका छन् । मन्दिर भित्र रहेको देवीगर्भ भने पहिलेकै स्थानमा राखिएको छ । सारिएको छैन । धार्मिक मान्यता अनुरुप देवीगर्भलाई सार्न नमिल्ने भन्दै यथास्थानमै राखिएको अध्यक्ष पोखे्रलले बताउनुभयो ।
यो मन्दिर पुरानो मन्दिरको रुपमा प्रख्यात छ । करिव अढाई सय बर्ष पुरानो धार्मिक विशेषता बोकेका उक्त स्थानमा २०३० सालमा मन्दिर निर्माण गरिएको थियो । त्यसपूर्व त्यो स्थानमा धमिराको गोलो जस्तो आकारमा रहेको सानो माटोको मन्दिर थियो । २०३० सालमा मन्दिर निर्माण भएपछि तत्कालिन बडा महारानी रत्नराज्य लक्ष्मी शाहवाट मन्दिरको उदघाटनपछि मन्दिर थप चर्चामा आएको थियो ।
पछिल्लो समय सोही मन्दिर जिर्णसँगै मन्दिरभित्रको भाग साघुरो भएपछि मन्दिर व्यवस्थापन समितिको पहलमा करिव ४४ बर्षपछि नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पुरातत्व विभागले मन्दिरको पुननिर्माण गरेको हो ।
स्वस्थानी ब्रतकथाका आधारमा भगवान शिवले सतिदेवीको शरिर बोकेर हिड्दा उक्त स्थानमा शतिदेवीको दाहिने कान पतन भएको धार्मिक विश्वास छ । श्रृद्धालु भक्तजनले विस्वास गरेर बर मागे प्राप्त हुने विस्वास गरिएको यो मन्दिरमा तत्कालिन राजा देखि सर्वसाधारण जनताले पुजा गरिसकेका छन् ।