तुलसीपुर, १८ कार्तिक| नेपाली भूमिमा अहिले पनि भारतीय रुपैयाँमा दैनिक उपभोग्य वस्तुहरूको कारोबार हुने गरेको छ । बाँकेको नरैनापुरमा केही समययता नेपाली रुपैयाँ चल्तीमा आउन थाले पनि स्थानीय व्यापारीले भारुमा मोलमोलाइ गर्ने र यसले उपभोक्तासमेत अन्योलमा पर्ने गरेका छन् ।
अधिकांश भारतीय रुपैयाँमा कारोबार हुने भएकोेले सामानको मोलमोलाइ भारतीय रुपैयाँमा हुने गरेको इलेक्ट्रोनिक्स पसलका सञ्चालक गिरिश मिश्रले बताउनुभयो । एक स्थानीय तह एक बैँक भन्ने सरकारी नीतिअनुसार बैंक पनि पुगेपछि नेपाली रुपैयाँ चलन चल्तीमा आएको छ । तर, अझैँ पनि भारतीय रुपैयाँमा नै सामानको मोलमोलाइ हुने गरेको छ ।
नेपाली रुपैयाँको चलन चल्ती सहज बन्दै गएपनि कारोबार अझैँ पनि भारतीय रुपैयाँमा हुने गरेको नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताउनुभयो ।