दाङ, १८ कार्तिक | दाङमा चालक अनुमती पत्र विना चलाईएका अटो तथा इ—रिक्सा सञ्चालनमा रोक लगाईएको छ । चालक अनुमती पत्र लाईसेन्स बिना कुनै पनि सवारीका साधन सञ्चालन गर्न नपाईने र दुर्घटना बढ्न थालेपछि विभिन्न सरोकारवालाहरुको छलफलबाट त्यस्ता अटोहरुलाई सञ्चालनमा रोक लगाईएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले साढे २ सय बढी अटो रिक्साहरुलाई तीन दिन पहिले नियन्त्रणमा लिएको थियो । ति अटो रिक्साहरु चालकको जिम्मा लगाउने र लाईसेन्स प्राप्त गरेपछि मात्रै चलाउने निर्णय भएको छ । त्यसैगरी, सिट क्षमता भन्दा धेरै यात्रु नबोक्ने, पार्कीङ स्थल भन्दा अनेत्र पार्किङ नगर्ने, अटोमा देखिने गरी भाडा सूची टाँस्ने, तोकिएको गतिमा कुदाउने र त्यस बिपरित चलेको पाईए ट्राफिक नियम अनुसार कार्वाही गर्ने निर्णय भएको छ ।
साथै विमा नगरेका अटो रिक्साहरुलाई यातायात व्यवस्था कार्यालयले दर्ता नगर्ने तथा रुट परमिट नदिने समेत निर्णय भएको ट्राफिक प्रमुख प्रेम रेग्मीले जानकारी दिनुभयो ।
अटो चालकहरुलाई लाईसेन्स प्राप्तीको प्रकृयामा आउनका लागि प्रत्येक साताको आईतबार देखी बुधबार सम्म फारम खुल्ला गर्ने र ४० जना बढी भए लिखित परिक्षा गरिने यातायात व्यवस्था कार्यालयका प्रमुख मित्रलाल ढकालले जानकारी दिनुभयो । कार्यालयमा ४ हजार बढी अटो रिक्साहरु दर्ता भएका र २५ प्रतिशतले लाईसेन्स प्राप्त गरेको छन् ।