सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै: संसदको प्रयासले विद्यालयमा आईटी ल्याब निर्माण

दाङ, ९ फागुन । दाङका सामुदायिक विद्यालयहरु प्रविधिमैत्री बन्दै गइरहेका छन् । नेपाल सरकारको आईसीटी कार्यक्रमअन्तर्गत जिल्लाका सामुदायिक विद्यालयहरु प्रविधिमैत्री बन्दै गएका हुन् ।

जिल्लाको घोराही उपमहानगरपालिका धर्नास्थित महेन्द्र माध्यमिक विद्यालयले कक्षा १ देखि नै प्रविधिमैत्री शिक्षा सञ्चालन गरेको जनाएको छ ।

Blog Post Ad

विद्यालयका प्रधानाध्यापक ऋषि अधिकारीले नेपाल सरकारको आईसीटी कार्यक्रमअन्तर्गत प्रविधिमैत्री शिक्षा सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । ‘हामीले कक्षा १ देखि नै प्रविधिमैत्री शिक्षालाई जोड दिँदै आएका छौं’, प्रधानाध्यापक अधिकारीले भन्नुभयो, ‘प्रविधिमैत्री शिक्षाले विद्यार्थीहरुलाई पढाइतर्फ आकर्षित बनाउनुका साथै शैक्षिक सुधारमा सहयोग पुगेको छ ।

Blog Post Ad

विद्यार्थीहरु विद्यालयमा नियमित आउन थालेका छन् ।’लामो प्रयासपछि विद्यालयलाई प्रविधिमैत्री बनाउने प्रयास सफल भएको भन्दै प्रधानाध्यापक अधिकारीले अझैं केही सामग्री अभाव रहेको जानकारी दिनुभयो । ‘विद्यालयलाई प्रविधिमैत्री बनाउन हामीले गरेको प्रयत्न सफल भएको छ ।

लामो समयपछि हामी यो कार्यमा सफल भएका छौं’, प्रधानाध्यापक अधिकारीले भन्नुभयो, ‘आईसीटी कार्यक्रमअन्तर्गत हामीलाई २५ वटा कम्प्युटरहरु उपलब्ध भएका छन् । इन्टरनेटको समस्या छ, यो पनि समाधान गर्दैछौं ।’ प्रविधिमैत्री शिक्षाको नियमितताका लागि विद्यालयले जेनेरेटरको व्यवस्थासमेत गरेको प्रधानाध्यापक अधिकारीले जानकारी दिनुभयो ।

विद्यालयलाई प्रविधिमैत्री बनाउने आफ्नो सपना पुरा भएकोमा बिगठित प्रतिनिधि सभा सदस्य विष्णु शर्मा हर्षित हुनुभएको छ । आफ्नो जीवन साथी नेत्रलाल अभागीले जग हालेको विद्यालयको विकासका लागि आफू पहिलेदेखि नै लागिपरेको भन्दै शर्माले लामो प्रयासपछि यो कार्यले सफलता पाएको जानकारी दिनुभयो । ‘सरकारले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन थालेको कार्यलाई मैले यो विद्यालयमा जोडेकी हुँ ।

नेपाल दूरसञ्चार प्राधिकरणअन्तर्गतको आईसीटी कार्यक्रमअन्तर्गत विद्यालयमा आई.टी. ल्याब स्थापना भएकोमा म हर्षित छु’, विगठित प्रतिनिधि सभा सदस्य शर्माले भन्नुभयो, ‘मेरो श्रीमान नेत्रलाल अभागीले स्थापना गरेको यो विद्यालयको विकासका लागि म लागिपरेकी छु । आईसीटी कार्यक्रमअन्तर्गत निर्माण भएको ल्यावको सदुपयोगका लागि विद्यालय लागिपरोस् ।’

जीवन साथीको नाममा कोष स्थापना
बिगठित प्रतिनिधि सभा सदस्य विष्णु शर्माले आफ्ना जीवन साथी तथा शहीद नेत्रलाल अभागीको स्मृतिमा स्थापना गरिएको अक्षयकोषमा रकम थप गर्नुभएको छ । माध्यमिक विद्यालय धर्नाको वार्षिकत्सव तथा अभिभावक भेलाको अवसरमा नेकपाकी नेतृ समेत रहनुभएकी शर्माले ५० हजार रुपियाँ अक्षयकोषमा थप गर्नुभएको हो । उहाँले यसअघि १० हजार रुपियाँको अक्षयकोष स्थापना गर्नु भएको थियो ।

हरेक वर्ष विद्यालयको वार्षिकोत्सवको अवसरमा गरिब, बिपन्न तथा जेहेन्दार विद्यार्थीलाई पुरस्कृत गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरेको उहाँले बताउनुभयो । ‘गरिब, विपन्न परिवारका विद्यार्थीको पठन पाठनमा सहयोग पु-याउन अक्षयकोष स्थापना गरेको हुँ’, उहाँले भन्नुभयो, ‘नेत्रलाल माट्साप शिक्षा क्षेत्रको विकासका लागि सधैँ लागिपर्नुहुन्थ्यो ।

उहाँको सपना साकार पार्न परिवारको तर्फबाट अक्षयकोष स्थापना गरेका हौं ।’ उहाँले विपन्न परिवारकी छात्रा सुनीता चौधरीको पठनपाठनको सम्पूर्ण जिम्मा लिनुभएको छ ।