अझै खुलेनन्, सिनेमा घर

दाङ, ११ पुस। कोरोना महामारीका कारण नेपाली सिनेमा घर झण्डै ९ महिनादेखि बन्द छन् । गतवर्ष चैत ११ देखि लकडाउन शुरु भएयता बन्द भएका चलचित्रहरु अझै संचालन नहुँदा सिनेमा हल र चलचित्र क्षेत्रमा काम गर्ने श्रमिक समस्यामा परेका छन् । प्रदर्शनको तयारीमा रहेका चलचित्र पनि युट्युवमार्फत धमाधम रिलिज हुन थालेका छन् । चलचित्र युट्युमार्फत रिलिज गर्न बाध्य हुँदा चलचित्र निर्माण व्यवसायी मारमा परेका छन् ।

नेपाली चलचित्र उद्योग त्यसैपनि धरासयी बन्दै गएको छ । प्रविधिको विकाससंगै हात–हातमा मोवाईल र इन्टरनेट पुगेपछि खस्किदै गएको चलचित्र व्यापार पछिल्लो समय कोरोना जोखिमका कारण झनै शिथिल बनेको छ । कोरोनाका कारण हलहरु बन्द हुँदा त्यसमा काम गर्ने श्रमिक विस्थापित हुन थालेका छन् ।

घोराहीमा रहेको गणेश चित्रालयका म्यानेजर चेतन कोइरालाले कोरोना महामारीका कारण कतिपय कर्मचारी पलायन भइसकेकोे बताउनुभयो । चलचित्र हल संचालनका लागि सरकारले आधिकारिक निर्णय नदिँदा खुल्ने कुनै निश्चित नभएपछि सिनेमा घरमा कार्यरत मजदुर पलायन हुन थालेको उहाँले बताउनुभयो । ‘धेरै जना श्रमिकले छोडिसक्नुभयो’ उहाँले भन्नुभयो–‘हल संचालन भएपनि तत्काल दर्शक पाउने संभावना पनि छैन् ।’

कोरोना जोखिमकै बिचमा सभा, सम्मेलन संचालन भएपनि चलचित्र हलहरु संचालनका लागि सरकारले अझै अनुमति दिएको छैन् । सरकारले हल संचालनका लागि अनुमति नदिएपनि चलचित्र उद्योगीले भने शुक्रबारदेखि हल संचालन गरिसकेका छन् । लामो समयपछि संचालनमा आएका हलमा पहिलो दिन आमा र सेन्टीभाइरस चलचित्र प्रदर्शन भए तर दर्शकको संख्या न्युन रह्यो । संघिय राजधानी काठ्माण्डौमा शुक्रबारदेखि हल संचालनमा आएपनि दाङमा अझैसम्म पनि संचालनमा आउन सकेको छैन् ।

दाङमा अहिलेसम्म सिनेमा घर ९ वटा हल भएपनि केहि कोरोना महामारीअघि नै बन्द भइसकेका थिए, केहि कोरोनाकै कारण बन्द अवस्थामा छन् । सबै क्षेत्र खुलिसकेको अवस्थामा बन्द रहेका हलहरुपनि संचालन हुनुपर्ने चलचित्र पत्रकार संघ दाङ शाखा अध्यक्ष शिब पुन बताउनुहुन्छ ।

‘सिनेमा घर लामो समयदेखि बन्द हुँदा त्यसमा रहेका श्रमिक र चलचित्र उद्योगी व्यवसायी समस्यामा छन्, सबै क्षेत्र लगभग खुलिसकेको अवस्थामा सिनेमा घर पनि संचालन हुनुपर्छ’ उहाँले भन्नुभयो–‘करोडौँ लगानी लगाएका चलचित्र निर्माताहरु सिनेमा घर बन्द हुँदा लगानी गुमाउन पर्ने अवस्थामा पुगेका छन् ।’

चलचित्र उद्योगमा अहिले पनि करोडौँको लगानी भएपनि सरकारले व्यवसायीको मर्म बुझ्न नसकेको चलचित्रकर्मीको गुनासो छ । कोरोनाकै कारण हलहरु बन्दहुँदा दर्शकहरुसंगै कलाकार, चलचित्र निर्माता मारमा छन् । दाङसहित देशभर सरकारले अहिलेसम्म हल संचालनको अनुमति दिन सकिरहेको छैन् ।

काठ्माण्डौमा चलचित्र व्यवसायीले आफै हल संचालन गरेपनि सरकारले आधिकारिक रुपमा अनुमति नदिएको दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताउनुभयो । ‘ केहि मापदण्ड बनाएर सरकारले हल संचालन गर्न दिने तयारी गरेको छ’ उहाँले भन्नुभयो–‘त्यसका लागि गृहकार्य शुरु भइसकेको छ ।’ कोरोनाले शिथिल अवस्थामा पुगेको चलचित्र क्षेत्रलाई चलायमान बनाउन सरकारले जतिसक्दो सिनेमा घर संचालनको अनुमति दिन आवश्यक छ ।