थपिए, मन्त्री, केहि मन्त्रीको जिम्मेवारी हेरफेर

दाङ, ११ पुस। प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणापछि ‘कामचलाउ’ हैसियतमा रहेका प्रधानमन्त्री केपी ओलीले हिजो साँझ मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ । पार्टी विभाजनसँगै बहुमत नेताहरू आफ्नो विपक्षीमा उभिएपछि ओलीले पूर्वमाओवादीलाई आकर्षित गर्ने रणनीतिक कदमका रूपमा मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको हो ।

पार्टी विभाजनपछि आफ्नो समूहमा रहेर साथ दिने पूर्वमाओवादी समूहका नेता तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’को सिफारिसमा पूर्वमाओवादी समूहका पाँच तथा पूर्वएमाले समूहका चारजनालाई मन्त्री नियुक्त गर्नुभएको छ भने एक जनालाई राज्यमन्त्री नियुक्त गर्नुभएको छ ।

६ मन्त्रीको जिम्मेवारी हेरफेर गरिएको छ । ३ फागुन ०७४ पछि प्रधानमन्त्री ओलीले एघारौँपटक मन्त्रिपरिषद् पुनर्गठन र हेरफेर गर्नुभएको हो । प्रधानमन्त्री ओलीले टोपबहादुर रायमाझीलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, प्रभु साहलाई सहरी विकास, मणि थापालाई खानेपानी तथा सरसफाइ र गौरीशकर चौधरीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी दिनुभएको छ ।

Blog Post Ad

यसैगरी गणेश ठगुन्नालाई संघीय मामिला तथा सामान्य प्रशासन, प्रेमबहादुर आलेलाई वन तथा वातावरण, जुलीकुमारी महतोलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र दावा लामालाई युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी दिइएको छ । विमला विश्वकर्मालाई उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

नवनियुक्त मन्त्रीहरूले हिजो साँझ शीतल निवासमा राष्ट्रपतिबाट शपथ लिएका छन् । प्रधानमन्त्री ओलीले ६ जना मन्त्रीको जिम्मेवारी हेरफेर पनि गर्नुभएको छ ।