कोरोनाले मादलको व्यापारमा गिरावट

जीतसागर जी.एम.

दाङ, २९ कार्तिक । तुलसीपुर उपमहानगरपालिका–४ बायखोलका गेहेन्द्र बादीलाई कुनै समय तिहारको समयमा मादल बनाउन भ्याइनभ्याई हुने गरेको थियो । तिहारमा खेलिने देउसी भैलोका लागि मादलको माग हुँदा उनलाई आम्दानी पनि राम्रै भएको थियो ।

Blog Post Ad

 

Blog Post Ad

उनले तिहारको समयमा मादल बिक्रिबाट रामै्र आम्दानी गर्ने गरेका थिए । पछिल्ला वर्षहरुमा भने मादलको माग विस्तारै कम हुन थालेको उनी बताउँछन् । ‘मादलको खोजि पनि कम हुन थालेको छ, मादल नै कम बजाएपछि व्यापार धेरै कम हुन थालेको छ ।’ उनले भने–‘अहिले कोरोनाले गर्दा पनि हामीहरु समस्यामा परेका छौँ ।’

 

मादल बनाएरै आफु र आफ्नो परिवारको दैनिकी चलाउन सहज भएपनि पछिल्लो समय मादलको माग कम हुँदा समस्या हुन थालेको उनले बताए । अझ यसवर्ष त कोरोना महामारीका कारण भैलोमा प्रतिवन्ध लगाएपछि मादलको माग नै नभएको उनले बताए । ‘मादलको व्यापार नै छैन्, मादल बिक्रि हुने समय भनेकै त तिहारको समय हो तर यस वर्ष कोरोना महामारीका कारण मादलको माग पनि ह्वात्तै घटेको छ’ उनले भने–‘कोरोना भन्दा पनि पछिल्ला वर्षहरुमा तिहारमा मादलको माग घट्न थालेको छ, अब त मादल बनाएर पनि दैनिकी चल्दैन् ।’

 

तिहारको समयमा बिगतका वर्षहरुमा दैनिकरुपमा ४ हजारसम्म आम्दानी गर्ने गरेपनि यसवर्ष १ हजारको समेत व्यापार हुन नसकेको उनले बताए । ‘मादल प्रविधिको कारणले पनि पछिल्लो समय हराउँदै गएकोे छ, अहिले पनि कोरोना महामारीले तिहारमा भैलि नहुने भएपछि मादलको माग पनि आउन सकेको छैन्’ उनले भने–‘अब आशा पनि मरिसक्यो, आम्दानी नै नभएपछि तिहार पनि नरमाईलो हुने भयो ।’

 

तुलसीपुर–४ कै जीतबहादुर बादी पनि यसवर्षको तिहारमा फुर्सदिलो बनेका छन् । यसवर्ष मादलको माग नआएपछि उनी फुर्सदिलो त बनेका छन् । उनी फुर्सदीले बने संगसंगै दैनिकी कसरी चलाउने हो आफुलाई चिन्ताले सताउन थालेको उनले बताए । मादल बनाउने पेशा नै विस्तारै संकटमा पर्न थालेको उनी बताउँछन् । ‘विषेशगरी धेरै आम्दानी हुने समय भनेको त तिहार हो, यो समयमा कोरोना महामारीले भैली खेल्न नपाएपछि मादलको माग पनि हुने कुरा भएन्’ उनले भने–‘ कोरोनाले गर्दा हामीलाई तिहार कसरी धकेल्ने हो भन्ने चिन्ताले सताएको छ ।’

 

बजारमा भित्रिएको प्रविधिका कारण उहाँको मादल बनाउने पेशा नै संकटमा परेको छ । दिपावली पर्व नजिकैगर्दा मादलबाट राम्रै आम्दानी हुने गरेपनि यसवर्ष त्यस्तो अवस्था नदेखिएको तुलसीपुर–४ कै दुर्गाबहादुर नेपालीले बताए । यसवर्षको तिहार नजिकिए पनि अहिलेसम्म उनलाई मादलको माग आउन सकेको छैन् ।

 

मादल नेपाली गितसंगितका लागिमात्रै नभएर तिहारमा खेलिने देउसीभैलोको लागि महत्वपूर्ण मनिने बाजा हो तर पछिल्लो समयमा मादलको माग कम हुँदा वादीसमुदायको पेशा नै संकटमा परेको छ । कोरोना महामारीले यसवर्ष देउसी भैलो नै नहुने भएपछि झनै मादलको माग घटेको छ भने बजारमा भित्रिएको प्रविधिले पनि मादलको मागमा कमि आएको छ ।

 

मादलको बजार राम्रो नभएपछि बावुबाजले गर्दै आएको मादल बनाउने पेशा संकटमा पर्न थालेको छ । अब यस्तै अवस्था लम्बिदै गएमा भावि पुस्तलाई मादल बनाउनेबारे ज्ञानको अभाव हुने निश्चित देखिएको ति बादी समुदायले कसरी बनाउने भन्ने पनि समस्या उब्जन थालेको छ ।

 

माछा मारेर जीबिकोपार्जन

मादलको माग विस्तारै कम हुँदै गएपछि मादल बनाएर दैनिकी चलाउँदै आएका वादी समुदायका व्यक्तिहरु पछिल्लो समय मादल बनाउने पेशा छोडेर माछामारेर दैनिकी चलाउँदै आएका छन् । मादलको व्यापार कम हुन थालेपछि आफुहरु माछा मारेर दैनिकी चलाएको तुलसीपुर–४ कै हरिलाल बादीले बताए । ‘मादल बनाउन छोडेको पनि १÷२ वर्ष पनि हुन थालेको छ’ उनले भने–‘अहिले माछामारेर दैनिकी चलाइरहेका छौँ, माछा पनि खोलामा विष हाल्ने प्रचलनका कारण पहिलेको तुलनामा निकै कम माछा खोलामा छन् ।’

 

सोहि ठाउकै रमेश बादीले पनि अहिले मादल बनाउन छोडेर माछा मारेर दैनिक चलाउने गरेका छन् । ‘मादल बनाउने र माछा मार्ने पेशा उस्ताउस्तै हुन्, उनले भने–‘न मादलको राम्रो व्यापार हुन सकेको छ, न त माछा नै सहज किसीमले पाइने गरेको छ ।’