नवीन अभिलाषी
दाङ, माघ १३ । सांस्कृतिक सम्पदा दुई प्रकारका छन् । छुने, देख्न सकिने सम्पदा मुर्त हुन भने छुन, देख्न नसकिने तर अनुभव र महसुस गर्न सकिने सांस्कृतिक सम्पदालाई अमुर्त सांस्कृतिक सम्पदा भनिन्छ । त्यस्ता अमुर्त सांस्कृतिक सम्पदाका धनि आदिबासी जनजाती, दलित, अल्पसंख्यक, मुस्लिम र पिछडावर्गका जानकारहरु अहिले चिन्तित अवस्थामा रहेका छन् ।
मधेशी दलित भित्र पर्ने मौर्य समुदायको संख्या झण्डै ७ हजार मात्रै रहेको छ । दिनप्रतिदिन यो समुदायको जनसंख्या मात्र घट्दो क्रममा छैन यो जातिको मौलिक परम्परा, भाषा, संस्कृति र रहनसहन समेत कमजोर बन्न थालेका छन् । ‘मधेशमा लामो समयदेखि बसोबास गर्दै आएको दलित समुदाय भित्र पर्ने मौर्य समुदायको जनसंख्या झण्डै ७ हजार मात्रै छ ।’ युवराज मौर्यले भन्नुभयो, ‘क्रमशः हाम्रो कला र संस्कृति मासिदै जान थालेको छ, यसको संरक्षणका लागि अव राज्यस्तरबाटै योजना निर्माण गरेर काम गर्नुपर्ने अवस्था रहेको छ ।’
आदिबासी जनजाति भित्र पर्ने कुमाल समुदाय पनि अहिले संकटमा छ । उस्को भाषा अहिले लोप हुने अवस्थामा पुगेको छ भने पोषाक, कुमाल जातिले मान्ने चार्डपर्वहरु, भेषभुषा तथा मौलिक संस्कृतिहरु अहिले लोप हुने अवस्थामा पुगेको अर्घाखाँचीका शिवप्रसाद कुमालले बताउनुभयो । प्रदेश नं. पाँचका विभिन्न जिल्लाहरुमा बसोबास गर्दै आएको कुमाल समुदायको आफ्नै भाषा छ, तर त्यो भाषा धेरैलाई जानकारी छैन । विशेष गरी माटोको भाँडा बनाएर जीविकोपार्जन गर्दै आएको समुदाय आधुनिकताका कारण संकटमा पर्दै जान थालेको छ । ‘हाम्र्रो आफ्नै भाषा छ, पोषाक पनि छ, हामीले मान्ने सस्कृति, परम्परा, बाजागाजाहरु रहेका छन्, कतिपय कुराहरु लोप भएर गए, हामीलाई जानकारी सम्म छैन ।’ कुमालले भन्नुभयो ।
समुदायमा रहेका मौलिक संस्कृति पुस्तान्तरण संगै हस्तान्तरण हुन नसक्दा अहिले लोप हुने अवस्थामा पुगेपनि समुदायका केहि ब्यक्ति तथा संघसस्थाहरु अहिले पनि संरक्षणमा लागि परेका छन् । घोराही उपमहानगरपालिका वडा नं. १० जलौरामा थारु समुदायले पौराणिक रुपमा प्रयोग गर्दै आएको पडकी, विडा, ढकिया, लगाएतका सामग्रीहरु अहिले पनि निर्माण हुँदै आएको छ । ‘थारु समुदायले प्रयोग गर्ने धेरै सामानहरु लोप हुने अवस्थामा पुगेपछि संरक्षणका लागि अहिले महिलाहरु तथा युवाहरुले काम गर्दै आएको बस्ने ईन्दिरा चौधरीले बताउनुभयो । दाङको आदिबासी तथा आदिभुमी जातिको रुपमा चिनिएको थारु समुदायसँग धेरै मौलिक परम्पराहरु रहेका छन् । ति परम्पराहरु, संस्कृतिहरु, थारु समुदायले प्रयोग गर्ने सम्पुर्ण प्रकारका सामानहरुको संरक्षणका लागि दंगीशरण गाउँपालिका वडा नंं ३ चखौरामा संग्रहालय निर्माण गरिएको छ । अहिले संग्रहालयमा दैनिक २ सय देखि ४ सय मानिसहरु अवलोकनका लागि पुग्ने गरेका छन् ।
अमुर्त सांस्कृतिक सम्पदाको संरक्षणका लागि घोराही उपमहानगरपालिकाले काम गर्न खोजेको छ । यो वर्ष थारु समुदायमा रहेको वर्का नाँचको बृत्तचित्र निर्माण गरिएको छ भने थारु, मगर तथा मौलिक संस्कृतिको धनि समुदायसँग समन्वय गरेर काम गर्दै आएको घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले बताउनुभयो । नेपालमा रहेका विभिन्न जाति तथा समुदायहरुको प्रमुख चुनौती नै सास्कृतिक संरक्षण नै रहेको डा. भक्त राईले बताउनुभयो । आदिबासी जनजातिहरुको सम्पुर्ण क्षेत्रको विषयमा अध्ययन गर्दै आउनु भएको डा. राईले कुनै पनि जाति तथा समुदायको मौलिक संस्कृति, कला र परम्पराहरु संरक्षण नहुने हो भने मानव समुदाय मानव नभएर रोवर्ट जस्तो हुने बताउनुभयो । यस्तै अन्र्तराष्ट्रिय प्रशिक्षक समेत रहनु भएका भिम घिमिरेले विश्वका आदिबासीहरुले आफ्नो कला, संस्कृति र परम्परालाई आयस्रोत सँग जोड्न सकिने बताउनुभयो । ‘मौलिक परम्पराको संरक्षणका लागि नयाँ पुस्ता जागरुक देखिनुपर्छ, त्यसलाई राज्यले आयस्रोतसँग जोड्न सकिने बाताबरण बनाईदिनुपर्छ ।’ घिमिरेले भन्नभयो ।
नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति प्रति चासो राख्ने बनाउनका लागि राज्यले पाठ्यक्रममा अमुर्त सांस्कृतिक विषयहरु समावेश गर्नुपर्ने लोकवार्ता परिषद्का अध्यक्ष प्रा.डा प्रेमबहादुर खत्रीले बताउनुभयो । मन्त्रालयले समेत अमुर्त सास्कृतिक सम्पदाको संरक्षणका लागि राज्यस्तरमा गणनाको कार्यक्रम सञ्चालन सुरु गरेको मन्त्रालयका सहसचिव सुरेश आचार्यले बताउनुभयो । मौलिक परम्परा भनेको नेपालीहरुको सम्पती रहेको भन्दै त्यो सम्पतीलाई जोगाउने दायित्व अब सबैको रहेको उहाँले बताउनुभयो ।