दाङ, असोज १५ । दाङमा महिला र बालबालिका हराउने क्रम बढेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन गौतमका अनुसार चालू आर्थिक वर्ष २०७६/०७७ का दुई महिनामा ३४ महिला तथा २९ बालबालिका हराएका छन् ।
चालु आर्थिक वर्षको २ महिनामै जिल्लाका १६ बालिका र १३ बालक हराएको प्रहरी निरिक्षक गौतमले जानकारी दिनुभयो । गौतमका अनुसार हराएकामध्ये छ महिला, पाँच बालिका र पाँच बालक फेला परेका छन् भने अन्य २८ महिला ११ बालिका र आठ बालक सम्पर्कमा आउन सकेका छैनन् ।
हराएका ६३ महिला र बालबालिमध्ये १६ जना फेला परेको भन्दै प्रहरी निरिक्षक गौतमले अझै ४७ फेला पर्न नसकेको जानकारी दिनुभयो । हराएमा खोजीका लागि प्रहरीलाई खबर गरे पनि कतिपयले भने भेट्टाउँदा खबर नगर्ने प्रवृत्ति रहेकाले पनि तथ्याङ्कमा तलमाथि हुने गरेको गौतमको भनाइ छ ।
विभिन्न प्रलोभनमा पारेर महिला तथा बालबालिकालाई घरपरिवारबाट सम्पर्क टुटाएर काममा लगाउने, बाहिरी मुलुक लैजाने, महिला पारिवारिक समस्याका कारण तथा श्रीमान्, वैदेशिक रोजगारका क्रममा गएका र घरमा श्रीमतीले पैसा हिनामिना गरेर घरबाट हिँड्ने गरेकाले पनि यस्तो समस्या रहेको उहाँले जानकारी दिनुभयो ।
हराएका महिला बालबालिकालाई रोक्नका लागि बढी भूमिका अभिभावककै रहने हुँदा अभिभावक जिम्मेवार बन्न आवश्यक रहेको समेत प्रहरी निरीक्षक गौतमले बताउनुभयो । यसैगरी नेपाल–भारत सीमानाका प्रयोग गरी रोजगारका लागि अवैधरुपमा भारत तथा खाडी मुलुक जाने महिला तथा बालबालिकाको संख्या प्रत्येक वर्ष बढ्दै गएको प्रहरीले जनाएको छ । बालबालिकालाई काममा लगाउँदा पारिश्रमिक दिन नपर्ने भएका हुँदा श्रमका लागि लैजाने गरेको प्रहरी निरिक्षक गौतमको भनाइ छ ।