दाङ, १९ असोज । सरकारले असोज १९ र २० गते (आइतबार र सोमबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले शनिबार जारी गरेको सूचनामा देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको उल्लेख गर्दै सम्भावित जोखिमलाई मध्यनजर गर्दै दुई दिनका लागि बिदा दिने निर्णय गरिएको हो ।
सूचनामा भनिएको छ, “अत्याधिक वर्षाका कारण बाढी, पहिरो तथा अन्य प्राकृतिक प्रकोपबाट जनधनको क्षति हुन सक्ने जोखिम रहेकाले सुरक्षाको दृष्टिकोणले देशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।”
दसैंको बिदापछि आइतबारबाट कार्यालयहरू नियमित रूपमा खुल्ने तयारी हुँदै गर्दा सरकारले थप दुई दिन बिदा दिएको हो ।