दाङ, १९ असोज । बाँकेका विभिन्न स्थानमा शनिबारदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । बडादशैँको दुर्गा मूर्ति विसर्जन गर्ने क्रममा झडपको स्थिति सिर्जना भएपछि स्थानीय प्रशासनले बाँकेमा निषेधाज्ञा जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालय, बाँकेले शनिबार साँझ ७ बजेदेखि लागू हुनेगरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) धर्मराज जोशीद्वारा जारी सूचनामा उल्लेख छ ।
जोशीले दुर्गा माताको मूर्ति विसर्जन गर्ने क्रममा जिल्लाका विभिन्न स्थानमा हिन्दू र मुस्लिम समुदायबीच झैझगडा भएका कारण निषेधाज्ञा जारी गर्नु परेको बताएका छन् । स्थानीय प्रशासनले डुडुवा गाउँपालिका–६, नेपालगञ्ज उपमहानगरपालिका १४, १५ र २३ तथा नरैनापुर गाउँपालिका-५ मा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो ।
निषेधाज्ञा लागू भएका स्थानमा पाँच जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन, जुलुस वा र्याली गर्न, धर्ना, सभा-समारोह गर्न, हतियार बोक्न र उच्छृङ्खल गतिविधि गर्न निषेध गरिएको छ ।
स्थानीय प्रशासनले आदेश उल्लंघन गर्नेहरूमाथि कानूनअनुसार कारबाही हुने चेतावनी दिएको छ। शान्ति, सुरक्षा र धार्मिक सद्भाव कायम गर्न सहयोग गर्न समेत कार्यालयले अनुरोध गरेको छ ।
विगतका वर्षहरूमा पनि दुर्गा मूर्ति विसर्जन गर्दा झडपको अवस्था सृजना हुने गरेको थियो ।