दाङ, १९ असोज । कर्तव्य ज्यान मुद्धामा कैद सजाय भोगिरहेका कैदीबन्दी खिम बहादुर बिक पंक्षीले कारागारबाट भागेर फेरि मान्छे मार्ने प्रयास गरेका छन् । कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय भोगिरहेका तुलसीपुर–५ रानीजरुवाका २२ वर्षीय पंक्षी कारागार कार्यालय तुलसीपुर दाङबाट गत भदौ २४ गते जेनेजी आन्दोलनको क्रममा भागेका थिए ।
फरार रहेका बिकले असोज ११ गतेराति तुलसीपुर–५ रानीजरुवामा ५३ वर्षीय स्थानीयमाथि धारिलो हतियार प्रहार गरी ज्यान मार्ने उद्योग गरेको अभियोगमा जिल्ला अदालत दाङले असोज १३ गते पक्राउ पुर्जी जारी गरेको थियो ।
पक्राउ पुर्जी जारी भएलगत्तै खोजतलासमा जुटेको प्रहरीले असोज १८ गते साँझ करिब ६ बजेतिर दंगीशरण गाउँपालिका–२ सातखुटीमा लुकिछिपी बसेको अवस्थामा बिकलाई फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका बिकलाई कारागार कार्यालय तुलसीपुर दाङमा बुझाइएको र ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।