दाङ, १६ असोज । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ देवीस्थान जम्मुचिरामा रहेको जलाशयमा बुधबारदेखि विधिवत रुपमा डुंगा संचालनमा आएको छ । पर्यटन प्रवद्र्धनका लागि वडा नम्बर १ ले आजदेखि डुंगा संचालनमा ल्याएको हो ।
तुलसीपुर उपमहानगरपालिकाको पर्यटन शाखाको सहयोग करिब २ लाखमा डुंगा खरिद गरिएको हो । जलाशय करिब ४ बिगाह क्षेत्रफलमा फैलिएको छ । डुंगामा ४ जना सवार मिल्ने तर अहिले डुंगामा सवारका लागि शुल्क निर्धारण भने नभएको वडा अध्यक्ष हुमकान्त सापकोटाले बताउनुभयो ।
उहाँका अनुसार डुंगा संचालनका लागि जम्मुचिर ड्याम समितिलाई जिम्मेवारी प्रदान गरिएको छ । समितिका अध्यक्ष गोकर्णलाल केसीलाई डुंगा हस्तान्तरण गरिएको हो । अब समितिले शुल्क निर्धारण गर्ने उहाँले बताउनुभयो ।
डुंगाको नगरप्रमुख टिकाराम खड्काले उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा उहाँले जलाशयको क्षेत्र विस्तार र तारबारका लागि नगरको सहयोग रहने प्रतिवद्धता जनाउनुभएको छ ।