बडादशैँ आज, हर्षोउल्लासका साथ मनाईदै

दाङ, १६ असोज । आज बडा दशैँको मूख्य दिन अर्थात् विजयादशमी । आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दशैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ बजेर ५३ मिनेटमा साइत उत्तम रहेको जनाएको छ ।

विजयादशमी आफैंमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने समितिले जनाएको छ । दशैँ आफन्त, साथीभाई तथा नजिकका व्यक्तिहरूसँग भेटघाट गरेर यो पर्वलाई हर्षोउल्लासपूर्ण तरिकाले मनाउने गरिन्छ ।

आज दुर्गा विसर्जनपछि जुनसुकै बेला टीका लगाउन सकिने धर्मशास्त्रबिद् सुर्यप्रसाद ढुंगेलले बताउनुभयो । आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरुप टीका, जमरा र आशीर्वाद थाप्न हिंड्ने मानिसको बाटामा भीड लाग्छ ।

धेरैजसो ठाउँमा कोजाग्रत पूर्णिमाका दिनसम्मनै टीका, जमरा लगाई आशीर्वाद थापिन्छ । तर नेपालका केही भागमा भने कुल, परम्परा अनुसार आजमात्र दुर्गा देवीको प्रसादका रुपमा टीका र जमरा लगाउने गरिन्छ ।