दाङमा नाबालिग बलात्कार प्रकरण : भागेर भारत पुगेका अभियुक्त पक्राउ

गणेश आचार्य

दाङ, ४ बैशाख । हाडनाता भित्रकै ९ वर्षीया नाबालिगलाई बलात्कार गरेको अभियोग लागेका युवकलाई प्रहरीले पक्राउ गरेको छ । गत माघ २४ गते आफन्तको घरमा गएकी रमिला (परिवर्तित नाम )लाई राति १० बजे १८ वर्षीय केशव खत्रीले बलात्कार गरेको घटना करिब अढाई महिनामा सार्वजनिक गरेको थियो ।

घटना लगत्तै अभियुक्त खत्री भागेर भारत पुगेका थिए । उनलाई हिजो काठमाडौंबाट पक्राउ गरिएको दाङ प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिनाले जानकारी दिए । उनीविरुद्ध यसअघि अघि नै जबरजस्ती करणीको कसुरमा मुद्दा दर्ता भइसकेको छ ।

आमा दिवङ्गत भइसकेको र बुवा रोजगारीका लागि भारतमा गएका बेला आफन्तको घरमा जाँदा हाडनाताभित्रकै युवकले बलात्कार गरेका हुन् । ती नाबालिगले पेट दुख्यो भनेर निकै रून थालेपछि उनलाई उपचारका लागि उनका अंकलले चैत २ गते घोराहीको हस्पिटल लगेका थिए ।

चेकजाँचका क्रममा चिकित्सकले उनको योनाङ्गमा घाउ देखिएपछि एक्लै राखेर सोधपुछ गरेको र उनले आफन्त पर्नेले जबरजस्ती बलात्कार गरेको खुलाएकी थिइन् ।

भतिजी बलात्कार भएको थाहा पाएपछि उनले भारतको दार्जिलिङमा रहेका आफ्ना दाइलाई घटनाबारे जानकारी गराएका थिए ।

नाबालिग छोरी बलात्कार भएको खबर पाएपछि घर आएका रमिलाका बुवा सुरुमा न्यायका लागि वडा कार्यालय गए । वडा कार्यालयमा अध्यक्ष डोमबहादुर केसीले गाउँको कुरा गाउँमै मिलाउनुपर्ने भन्दै पीडकका बाबु र पीडितका बाबुबीच यही चैत १३ गते मिलापत्रको कागज गराएको खुलेको छ ।

‘छोरी बलात्कार भएको भाइले खबर गरेपछि म घर आएँ’ पीडित रमिलाका बुवाले यसअघि नेपाल प्रेससँग भनेका थिए, ‘वडा कार्यालयमा जाँदा वडाध्यक्षले यतै मिलापत्र गरौँ भन्नुभयो । अनि मिलापत्र गर्‍यौँ ।’ पीडितका बुवाको यही घटनाका बिचमा मृत्यु भइसकेको छ ।

वडाध्यक्ष केसीले पनि बलात्कार घटनाको वडा कार्यालयमा मिलापत्र गराइएको स्वीकार गरेका थिए ।

पहिला बलात्कार भएको भन्दै निवेदन आएको र पछि गाउँको घटना गाउँमै मिलाउने भनेर चैत १३ गते मिलापत्र गराइएको उनले बताएका थिए ।

‘पहिला बलात्कार भनेर निवेदन आयो’, वडाध्यक्ष केसीले भनेका छन्, ‘पछि फेरि यतै मिलाऔँ भनेर मिलापत्र गराइएको हो ।’

उनका अनुसार मिलापत्रको कागज वडा कार्यालयमै राखिएको छ । केसी नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् । बलात्कारको घटनाको मिलापत्रको कागज वडा कार्यालयकै कर्मचारी रामबहादुर घर्तीले लेखेको पाइएको छ ।

बलात्कारको निवेदन आएपछि प्रहरीमा पठाउनुको सट्टा वडाध्यक्षले नै मिलापत्र गराइएको भन्दै स्थानीय स्तरमा असन्तुष्टि बढेको छ ।