तुलसीपुरमा सडक निर्माणको माग गर्दै सडकमै रोपियो केराको बोट

दाङ, ४ बैशाख । दाङको तुलसीपुर उपमहानगरपालिका–५ स्थित रानीजरुवामा सडक निर्माणका लागि दबाब दिन सडकमै केरा रोपेर विरोध जनाइएको छ ।

बोलपत्र आह्वान भएको तीन वर्ष बित्दा पनि निर्माण नभएको भन्दै स्थानीय युवाहरूले विरोध जनाएका हुन् । पटक–पटक सम्बन्धित निकायलाई झक्झक्याउँदा पनि चासो नदिएपछि बुधबार स्थानीयले एक घण्टा सडक चक्काजाम गर्नुका साथै सडकमा केरासमेत रोपेका थिए । बसपार्कस्थित पीपलबोट नजिक चक्काजामसहित सडकमा केराका बिरुवा रोपिएको सङ्घर्ष समितिका सदस्य दीपक काफ्लेले बताए । ‘शुरूमा टेन्डर पनि भयो, ठेकेदार पनि आए तर काम अगाडि बढेन । त्यसपछि यहाँ न ठेकेदार आएका छन् न त सडक नै बनेको छ,’ उनले भने ।

सडक नबन्दा आवतजावतमा मात्र नभई यहाँको व्यवसाय नै धरासयी भएको सङ्घर्ष समितिका सदस्य आकाश भण्डारीले बताए ।