दाङ, ५ कार्तिक । मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङको अध्यक्षमा कमल गौतम चयन हुनुभएको छ । गौतम केन्द्रको पूर्वअध्यक्ष, गैरसरकारी संस्था महासंघ लुम्बिनी प्रदेशका पूर्वसचिव हुनुहुन्छ । उहाँ पुनः अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ ।
केन्द्रको ३३ औं साधारणसभा तथा १२ औं अधिवेसनबाट एकजना कार्यसमितिले मनोनीत गर्नेगरी ११ जनाको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । जसको निवर्तमान अध्यक्ष निर्मला गौतम, उपाध्यक्ष कुमारराज श्रेष्ठ, सचिव माया शर्मा, कोषाध्यक्ष रिमा शर्मा र सहसचिव पुनाराम चौधरी चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा देवा विक, वामदेव शर्मा, महेश न्यौपाने र लक्ष्मणसिंह थापा चयन हुनुभएको छ ।
संस्थाले स्कुल पुग्न नसकेका बालबालिकालाई पढ्न पठाउन बालशिक्षा कार्यक्रम, वातावरण दिवस मनाएर समुदायमा वातावरण संरक्षणको सचेतना फैलाउने, डेंगुबाट बच्न समुदायमा सफाइ र स्वास्थ्य सुरक्षा कार्यक्रम गर्दै आएको सहसचिव सरस्वती सुवेदीको प्रगति प्रतिवेदनमा उल्लेख छ । आर्थिक प्रतिवेदन कोषाध्यक्ष माया शर्माले पेश गर्नुभएको थियो ।
कार्यक्रममा डा. लोकराज पराजुली र प्रकाश देवकोटालाई आजीवन सदस्यता प्रदान गरिएको थियो । केन्द्रका अध्यक्ष निर्मला गौतमको अध्यक्षता एवं संस्थापक किरणकुमार रेग्मीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अतिथिहरु केन्द्रका पुर्वअध्यक्षहरु भरतराज देवकोटा, तीर्थराज सन्तोषी, कमल गौतम, पूर्वसचिव भोला अधिकारी, सदस्य विमला देवकोटा, कानुनी सल्लाहकार अधिवक्ता कुमारराज श्रेष्ठलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । संस्थापक लक्ष्मीमान चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन सहसचिव सरस्वती सुवेदीले गर्नुभएको थियो ।