क्रिकेटको ‘हब’ बन्दै दाङ

दुर्गालाल केसी
दाङ, १० असोज । क्रिकेटका लागि दाङ राम्रो हब बनिरहेको छ । आठौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटको खेल लमहीस्थित क्रिकेट मैदानमा भएका थिए । एक सातासम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीले लमहीको मैदान भरिभराउ हुँदा क्रिकेटमा छुट्टै रौनक छाएको थियो ।
अहिले फेरि उक्त मैदानमा आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटका लागि खेलाडीको प्रशिक्षण र छनोट प्रक्रिया चलिरहेको छ । नोभेम्बर ६ देखि यूएईमा हुने एसिया छनोटका लागि सातै प्रदेशका खेलाडी लमहीको मैदानमा अभ्यास गरिरहेका छन् । २८ खेलाडीले बन्द प्रशिक्षण लिइरहेको नेपाली यू–१९ का मुख्य प्रशिक्षक महेश रिजालले बताए । यसबाट अन्तिममा १४ खेलाडी छनोट हुनेछ ।
भदौ ३१ देखि सुरु प्रशिक्षण असोज १४ सम्म चल्नेछ । रिजालका अनुसार यसपछि दोस्रो चरण दसैंपछि हुनेछ । प्रदेशबाट छनोट भएर आएका खेलाडी बन्द प्रशिक्षणमा छन् । नेपालमा महिला क्रिकेटको साख बढिरहेको प्रशिक्षक रिजालले बताए । ‘नेपालमा महिला क्रिकेटले इज्जत बढाइरहेको छ । सम्भावना पनि राम्रो देखिएको छ,’ उनले भने, ‘नियमित खेल र अभ्यास हुन सकेमा खेलाडीको क्षमता विकास हुन्छ ।’
लमही क्रिकेट मैदानमा राम्रो भौतिक संरचना रहेको उनले बताए । ‘खेल मैदानमा आवश्यक सबै संरचना तयार भएका छन् । प्यारापिटसमेत राम्रो छ,’ उनले भने, ‘यसको नियमित मर्मत सम्भार र प्रयोग गरेमा यो मैदानमा राष्ट्रिय प्रतियोगिता खेलाउनसहज हुन्छ । यसले राष्ट्रिय क्रिकेटको विकासमा राम्रो टेवा पुर्याउन सक्छ ।’
लमहीको मैदान अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण भएको हो । मैदानमा करिब २ करोड लगानी भइसकेको छ । लमही नगर विकास समितिको ५ बिघा जमिनमा मैदान छ । सुरुमा सामान्य मैदान, त्यसपछि एथलेटिक्स, फुटबल मैदान हुँदै अन्तमा क्रिकेट मैदान बनेको थियो । खेलाडीहरूले माग गरेपछि बर्षैपिच्छे लगानी थप्दै एक दशकमा मैदानको स्तरोन्नति गरिएको थियो ।
क्रिकेटका लागि दाङ राम्रो गन्तव्य बन्दै गएको छ । क्रिकेटमा खेलाडीको क्रेज देखेर मैदानमा पनि लगानी बढिरहेको छ । स्थानीय, प्रदेश र संघीय सरकारले पनि क्रिकेट मैदानमा लगानी गर्दै आएका छन् । जिल्लामै पाँचभन्दा बढी ठूला क्रिकेट मैदान छन् । अरू बन्ने क्रममा छन् । सबै स्थानीय तहले एक/एक क्रिकेट मैदानको तयारी गरिरहेका छन् । यसले पनि गाउँगाउँमा क्रिकेट क्रेज बढाइरहेको छ ।
राष्ट्रिय स्तरका प्रतियोगिता र प्रशिक्षण दाङमा हुँदा क्रिकेटप्रतिको चासो बढ्ने गरेको प्रशिक्षक एवं दाङ जिल्ला क्रिकेट संघका सचिव सन्जु केसीले बताए । ‘संरचना र खेल मैदानका हिसाबले दाङ क्रिकेटको हब बन्दै गएको छ,’ उनले भने, ‘राष्ट्रिय रूपमा दाङ क्रिकेटको महत्त्वपूर्ण गन्तव्य बनिरहेको छ । बेलाबेला राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्ने अवसर मिलेको छ ।’
घोराही उपमहानगरपालिका–१७ गुलरियामा अन्तर्राष्ट्रिय स्तरकै क्रिकेट मैदान तयार भएको छ । प्रदेश सरकारको ५० लाख र युवा तथा खेलकुद मन्त्रालयको २० लाख गरी ७० लाखको लगानीमा क्रिकेट मैदान निर्माण भएको हो । विस्तारै लगानी थप्ने क्रम जारी छ । उक्त मैदानमा पनि बेलाबेला खेल हुने गरेका छन् । यसले पनि खेलको वातावरण सिर्जना गरिरहेको छ ।
जिल्लाको पहाडी गाउँपालिका बंगलाचुलीमा पनि करोड बढी लगानीमा क्रिकेट मैदान बन्दै छ । प्रदेश सरकारको एक करोड बजेटमा गाउँपालिकाले थपेर जुम्लेपानीमा मैदान बनाएको हो । राजपुर गाउँपालिका–५ मा प्रदेश सरकारको ५० लाख बजेटमा खेल मैदान निर्माण भएको छ । बबई गाउँपालिकाले पनि खेल पूर्वाधारका लागि ५६ लाख रुपैयाँ लगानी गरेको छ । प्रदेश सरकारको ३६ लाख बजेटमा पुरन्धारा खेल मैदान, गाउँपालिकाको १० लाख बजेटबाट हंशपुरमा क्रिकेट मैदान र पञ्चकुलेमा १० लाखको लागतमा मैदान निर्माण गरिएको छ । राप्ती गाउँपालिकामा पनि अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण हुँदै छ ।
मैदानसँगै खेलहरू बढी भए मात्रै खेलाडीहरू उत्पादन हुनसक्ने दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाले बताए । ‘मैदानलाई नियमित उपयोग गर्न सकेमा खेलाडीहरूको सिप विकास हुन्छ । खेलको माहोल निर्माण हुन्छ,’ उनले भने, ‘दाङमा क्रिकेटप्रति आकर्षण बढ्दो छ । राष्ट्रिय खेलहरू पनि भइरहेका छन् । यसले खेलाडीलाई पनि उत्साहित बनाएको छ ।’
२०७३ सालदेखि आईसीसीले क्यानलाई प्रतिबन्धित गरेपछि देशभर संस्थागत रूपमा क्रिकेटका गतिविधि गर्न समस्या भएको थियो । प्रतियोगिताहरू हुन छाडेका थिए । त्यसले धेरै खेलाडीहरूलाई निराश बनाएको थियो । त्यसका बाबजुद पनि दाङमा खेलमैदान निर्माण गर्ने र खेलको अभ्यास गर्ने क्रम जारी रहेको मजगैयाले बताए । हालसम्म दाङबाट ७ खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेका छन् ।
अहिले पनि जिल्लामा राष्ट्रियस्तरको खेल खेल्ने खेलाडी ५० बढी रहेको उनले बताए । उनका अनुसार ४ सय बढी जिल्लास्तरमा खेल्ने खेलाडी छन् । अहिले दाङमा बन्द प्रशिक्षण हुनु राम्रो अवसर भएको मजगैयाले बताए । ‘यो दाङका लागि ठूलो अवसर हो । राष्ट्रिय स्तरको प्रशिक्षण सञ्चालनको अवसर मिल्दा हामीलाई हौसला बढेको छ,’ उनले भने,’ खेलमा सहभागी खेलाडी पनि राम्रा छन् । स्थानीय खेलाडीले पनि हेर्ने र सिक्ने अवसर पाएका छन् ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad