रोल्पा, ३१ भदौ । रुन्टीगढी गाउँपालिका वडा नं १ लापल गाउँकि बर्ष २४ कि सन्ध्या घर्तीको प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा सफल डेलिभरी भयो। नवजात शिशु र सुत्केरी दुबैको अवस्था सामान्य भएपछि सनिबार अस्पतालले डिस्चार्ज गरेर घर पठायो।
घर फर्किएको भोलि पल्ट भदौ ३० गते आइतबार नवजात शिशुको स्वास्थ्यमा समस्या देखियो। दुध नचुस्ने लगायत समस्या आएपछि शिशु र आमा दुबैलाई आकस्मिक अस्पताल पुर्याउनु पर्ने अवस्था आयो।अस्पताल पुर्याउन मोटरबाटो बिग्रिएकाले बोकेर उपचार गर्न लाग्नु पर्ने भयो।बढ्दो बेरोजगारीका कारण युवा जनशक्ति गाउँमा थिएनन्।त्यसैले गाउँमा भएका महिलाहरुले नै सुत्केरी र नवजात शिशुलाई डेढ घण्टा सम्म स्टेचरमा बोकेर उँघासम्म पुर्याएका छन्।
`गत असार देखि मोटबाटो अवरुद्ध छ। बेजोरगारीका कारण गाउँका पुरुषहरु सबै इट्टाभट्टा,लिसा,भारत र विदेश गएका छन्´ स्थानीय लालसरी जिएमले भनिन् :`शिशुको जीवन रक्षार्थ हामी महिलाले बोकेर उँघासम्म पुर्यायौँ। उँघाबाट दाङ पठाइएको छ। हामि लापलवासीलाई चौतर्फी समस्याले घेरेको छ। स्थानिय सरकार बेखबर छ।`
गाउँ- गाउँमा सिंह दरबार भन्ने नारा सहित स्थापित स्थानीय सरकार रुन्टीगढी जनताका दु:ख र पिडामा लाचार बनिरहेको छ। आफ्नै जेसीबी डोजर समेत रहेको स्थानीय सरकार रुन्टीगढीले गत असार देखि अवरुद्ध रहेको लापल देखि उँघा र लापल देखि वडा कार्यालय लिवाङी आप जाने सडक खुलाउन प्रयास नगरेर आफ्नो जिम्मेवारीबाट पन्छी रहेको छ।
गाउँको सिंह दरबार स्थानिय सरकार रुन्टीगढी कर्तव्य र जिम्मेवारीबाट लाचार र निरीह बन्दा रुन्टीगढीका जनताहरु अनेकौं दु:ख,पीडा,अभाव,बेरोजगारी,यातना लगायतका समस्याका शिकार बनिरहेका छन्।