नारायणप्रसाद श्रेष्ठ
हिन्दु संस्कारभित्रको चाडपर्व र चाडपर्वभित्रका मौलिक संस्कृतिमा स्थापित मानवीय चरित्र बनेर प्रत्येक वर्ष आउने कुशे औंसी (बाबुको मुख हेर्ने पर्व) तथा हरितालिका तिज पर्व अब केही दिनपछि हाम्रो घरआँगनमा भित्रिँदै छ । श्रद्धा र विश्वास जगाउँदै मानसम्मान र अनुशासनलाई जीवनको अभिन्न अंग बनाउँदै आउने यी पर्वहरुले मानवीय जीवनमा नौलो अभ्यास सिकाउँदै जानेछन् ।
आचरण र व्यवहारलाई परिस्कृत गर्दै सामाजिक सद्भाव बढाउने यो पर्वले हामीलाई नयाँ उर्जा दिनेछ । भगवान् विष्णुको रुपमा स्वीकारी प्रचलनमा आएको यसको महिमा अपरम्पार छ । हिन्दु संस्कृति अनुसार कुनै पनि कार्य गर्दा जन्मदेखि मृत्यु प्रर्यन्त यसको आवश्यकता पर्ने र यसको महत्व हिन्दु संस्कृतिमा भएका पौराणिक ग्रन्थमा उल्लेख भएअनुसार छुट्टै मान्यता प्राप्त भएको अवस्था छ । जालान्धरको पतिब्रता धर्मपत्नी वृन्दाको सराप मोक्ष गर्न विष्णु भगवान् कुशको रुपमा रही पृथ्वीलोकमा रहेको मान्यता अनुसार प्रत्येक वर्ष कुशे औंसीमा यसलाई विधिवत पूजा गरी प्रत्येक हिन्दु धर्मावलम्बीको घरघरमा कुश भित्र्याउने प्रचलन रहेको छ ।
२१औँ शताब्दीको हाम्रो सामाजिक संस्कृति आधुनिक युग सुहाउँदो हुनु कुनै नौलो विषय होइन । समय र परिस्थिति अनुकुल संस्कृति र संस्कारमा परिमार्जित हुनु यो पनि नयाँ विषय होइन । अहिले हिन्दु संस्कृति र सभ्यताले सिकाएको अनुशासित जीवनशैलीमा परिवर्तन समयाकुल हुनु यो पनि नराम्रो विषय होइन । सूर्य उदाउँछ, अस्ताउँछ फेरि उदाउँछ यो नियमित प्रक्रिया हो । जबसम्म प्रकृति र यसको नियमले नियमितता पाइरहन्छ, तबसम्म यो चलिरहन्छ । यसरी नै समय गुज्रने क्रममा हामी कति अनुशासित भयौँ ? हाम्रो कर्म र व्यवहारमा कति परिमार्जित भयो हामीले पर्वसँग गाँसिएको सत्यलाई कति महसुस ग¥यौँ यो विषय निकै सुजबुझ पूर्ण तरिकाले हेर्ने जरुरी छ ।
अहिले समन्वयवादी संस्कृतिभित्रको सामाजिक परम्परा संस्कारमा परिमार्जित गर्ने क्रममा र मनोविज्ञानमा समेत असर पर्ने गरी आधुनिकताले प्रवेश गरेको देखिन्छ । विकृति र विसंगतिको कारण पौराणिक सत्यभित्र लुकेको आचरण र व्यवहार परिवर्तन भइरहेको छ । जीवनशैलीमा नयाँपन देखा परेको देखिन्छ । खानु, लाउनु, मोजमजा गर्नु नै जीवनको उद्देश्य हो भन्दै सामाजिक संस्कृतिमा नयाँ जीवनशैली देखिँदै छ । आफ्नो दायित्व के हो त्यो भुल्न गई केवल मनोरञ्जन प्रदान पश्चिमी मुलुकबाट आयातित संस्कृति र संस्कारलाई प्रश्य दिन खोजिँदै छ ।
हिजो हामीले जुन कुरा छाडा संस्कृति हो भनी मान्दै आएको थियौँ त्यही संस्कृति स्वतन्त्रताभित्र परिभाषित भई नयाँ सभ्यताको रुपमा विकसित हुँदै गरेको देखिन्छ । जीवनलाई मनोरञ्जन र विलाषीतातिर धकेल्दै छाडा संस्कृति नै जीवनको सुखद् क्षण हो भनी अपवित्र आचरणतर्फ मानिसको ध्यान आकर्षित भइरहेको छ । शान्ति र सद्भाव कायम गर्दै समान भाव र मानवीय आचरणमा प्रश्न चिन्ह उठेको छ । हुँदा खाने र हुनेखाने बिचको सम्बन्धमा दरार पैदा भइरहेको छ । हिन्दु संस्कृति केही होइन भन्ने गरी छाडा संस्कृतिप्रति हाम्रो ध्यान किन आकर्षित हुँदै छ ? यसतर्फ सबै गम्भीर हुनै पर्छ ।
अब केही दिनपछि भाद्र १७ गते बाबुको मुख हेर्ने पर्व हाम्रो घरआँगनमा भित्रिँदै छ । यस अवस्थामा हाम्रो अभिभावकलाई के कसरी सम्मान गर्ने ? ज्येष्ठ बाआमाप्रतिको हाम्रो धारणामा के कति परिवर्तन हुँदै आएको छ अहिले गम्भीर रुपले सोच्नु पर्ने देखिन्छ । बाबुको त्याग र समर्पणले नै म यो अवस्थासम्म आइपुगेको छु । म पनि कसैको बाबु बनेको छु भन्ने सोच वृद्धि गर्न यस पर्वले हामीलाई सन्देश दिएको छ । प्रत्येकले आफूलाई जिम्मेवारी सम्झेर बाबुआमालाई मैले पालेको छु भनेर गर्व गर्नु पर्ने आचरण अहिलेको आवश्यकता हो तर त्यसको विपरित बाबुआमाबाट म पालिएको छु भन्दै उनै बाबुआमाको सम्पत्तिमा रजाई गरेर उनलाई वृद्धाश्रममा लैजाने आचरण कतै हामीले गरिरहेका त छैनौ ?
बाबुआमा हाम्रा लागि ईश्वरको अर्को रुप हो भन्ने मान्यताका साथ नै यो पर्व परापूर्वकालदेखि स्वीकार गरिँदै आएको हो । त्यसैले आफूले वृद्ध बाआमालाई दिनु पर्ने जुन संस्कार छ त्यसमा कतै त्रुटि त छैन ? अहिले गम्भीर चिन्तन गर्नु परेको छ । अनुशासन र मर्यादालाई ख्याल गरेर बाबुलाई जुन किसिमको श्रद्धा दिनु पर्ने हो त्यसमा कत्ति पनि कन्जुस्याई नगरी अब हामीले साच्चीकै रुपमा यो पर्व मनाउनु परेको छ । हामीले गरेको कर्म र व्यवहार हाम्रा सन्ततीको लागि मार्गदर्शक बनोस् भन्ने ध्ययले यो पर्वलाई स्वीकार गर्नु र निरन्तरता दिनु अहिलेको आवश्यकता हो ।
अर्को चाड हरितालिका तिज अब केही दिनपछि भाद्र २१ गतेका दिन आउँदै छ । तिज भित्रन अझ केही समय बाँकी नै छ तर पनि अहिलेदेखि नै तिजको रमझम जताततै घन्किन सुरु भइसकेको छ । प्रत्येक टोल, होटल रेष्टुरेन्टमा नानाथरीका कपडा र गहनाले सिंगारिएर दिदिबहिनीहरु मस्तसँग झुलिरहेको देखिँदै छ । तिज आउन केही समय अघिदेखिनै आफ्ना साथीभाइ, इष्टमित्र, संगिनीसँग प्रत्येक दिन जस्तो दिदिबहिनीहरु तिजको दर खाने भन्दै, रमाउँदै नाँच गान गरिरहेका छन् ।
‘तिज आयो भन्छन् सबै माइत जान्छन्, म चेलीको को छ र माइत जाउ’ यस्तो करुणरसले भरिएको गीतभन्दा हङ्कङ्को सारीले धुलो उडायो… हाई मेरो फरिया झन् माथि सा¥यो, झन् तल झर्छ… जस्ता गीतले प्राथमिकता पाएको देखिन्छ । वर्ष दिनपछिको भेटमा आमाछोरीले आ–आफ्ना कथा र व्यथा सुनाउँदै विश्राम लिने र तिजको अघिल्लो दिन मिठो मसिनो खाई तिजको ब्रत बसेर रमाउने तिज पर्वमा दुःख र वेदनाले भरिएका करुणरस प्रदान गीत संगीतमा रमाउँदा ठिकै मान्न सकिन्थ्यो तर त्यसो नभई छाडा संस्कृति जस्तै पर्वलाई मनाउने गरेको देखिन्छ ।
यदि यसरी नै पर्वलाई मनोरञ्जन प्रदान आचरण र व्यवहारतर्फ आकर्षित गर्दै भट्किलो र खर्चिलो पाराले मनाउँदै जाने हो भने हाम्रो समाजमा हुनेखाने, हुँदाखाने बिचको खाडल झन बढ्दै आपसी सम्बन्धमा चिसोपन नबढ्ला र ? अहिले देखासिकीले पनि ऋण काढेर पर्वलाई तडकभडक गरेर रमाउँदै मनाउँदै गरेको देखिन्छ । त्यसले पछि कस्तो रुप लेला ? संस्कृति बचाउने नाममा पाश्चात्य संस्कृतितर्फ रुपान्तरण हुनु यो स्वभाविक होइन । यस अवस्थामा पर्वलाई यसको सत्यसँग जोडेर मनाऔँ । पार्वतीले महादेव स्वामी पाउँ भनी जुन किसिमको जप, तप, ध्यान, योग गरेर यो पर्वको सुरुवात भएको मान्यता छ । त्यही अनुरुप अहिले पनि त्यस्तै भक्तिपूर्वक यो पर्वको मान्यता राखरी यसले सिकाउन खोजेको आदर्शलाई आत्मसात गरौँ । यस पर्वलाई यसको सत्यसँग जोडेर श्रद्धा भक्तिपूर्वक मनाऔँ यो पर्वले हामीलाई यही सन्देश दिएको छ । अहिलेको आवश्कता पनि यही हो ।