दाङ, ११ भदौ । तुलसीपुर-७ मा रहेको राप्ती शान्ति उद्यानमा पर्यटकलाई आकर्षित गर्न डुंगा संचालनमा आएको छ । उद्यान परिसरमा निर्माण गरिएको जलाशयमा डुंगा संचालनमा आएको हो ।
उद्यानमा कृत्रिम जलाशय निर्माण गरेर डुंगा संचालन गरेपछि पर्यटकहरुलाई थप आकर्षण बढाएको उद्यानका अध्यक्ष डिल्लीराज भण्डारीले जानकारी दिनुभयो । लुम्बिनी प्रदेश सरकारको ४८ लाख र उद्यानको ६ लाख गरी ५४ लाखमा जलाशय निर्माण गरिएको उहाँले बताउनुभयो । जलाशयमा चलाउन तुलसीपुर उपमहानगरपालिकाले दुईवटा फाइबर डुंगा उपलब्ध गराएको छ ।
जलाशयलाई डुंगा सयरसंगै पर्यटकहरुका लागि माछा मार्ने (फिसिङ) सेवा पनि उपलब्ध गराइने उद्यानका अध्यक्ष भण्डारीले बताउनुभयो । उहाँका अनुसार अबको केही दिनमा माछालाई खुवाउने चारो पनि पाइने व्यवस्था मिलाइने भएको छ । पर्यटकले माछालाई चारो खुवाउँदै डुंगा सयर गर्ने उहाँले बताउनुभयो ।
यसैबिच उद्यानमा अहिले हात्ती, गैंडा, जिराफलगायतका जनावरहरुका स्ट्याचुहरु थप भएका छन् भने थप आकर्षक संरचनाहरु पनि बनाइएका छन् । उद्यानमा अहिले दैनिक पाँच सयको हाराहारीमा पर्यटक आउने गरेको अध्यक्ष भण्डारीले बताउनुभयो ।