चटपटे बेचेर आत्मनिर्भर बन्दै देउखुरीकी सारती अधिकारी

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ६ भदौ । मकैबाट पनि चटपटे बनाइन्छ भन्दा आश्चर्य लाग्नसक्छ । देशका अधिकांश स्थानमा भुटेका चना, भुजा, चाउचाउलगायत खाद्यपदार्थ मिसाएर बनाइने चनाचटपटे मकैबाट पनि तयार गर्न सकिन्छ भन्ने सबैलाई थाहा छैन । तर दाङको देउखुरी क्षेत्रमा व्यावसायिक रूपमा मकैखेती हुने भएकाले सारती अधिकारीले मकैचटपटे बेच्दै आउनुभएको छ । राप्ती गाउँपालिका–३ मसुरिया निवासी अधिकारी मकैको चटपटेबाट आम्दानी पनि प्रशस्त गर्दै आउनुभएको छ ।

शुरुमा आफूले पनि भुजा, चाउचाउको चनाचटपटे बनाउने गरेको तर पछि यसमा प्रयोग हुने मेसिन र तालिम गाउँपालिकाबाट निःशुल्क पाएपछि नयाँ काम शुरु गरेकोे बताउनुभयो । ‘घरमा त्यसै बस्नुभन्दा व्यवसायमा जोडिएपछि दुई–चार पैसा आवश्यक परेका बेला अरुसँग माग्नुपर्ने बाध्यताको अन्त्य भएको छ’– उहाँले भन्नुभयो । चटपटे बनाउन प्रयोग गरिने मेसिन निःशुल्क पाएपछि अझ सहज भएको उहाँ बताउनुहुन्छ । मेसिन मकै उसिन्ने, अचार बनाउनेलगायत काममा प्रयोग हुने गरेको छ । अन्यको भन्दा मकैको चटपटे सबैले मन पराएर खाइदिने हुँदा व्यवसाय गर्न हौसला पनि उहाँमा बढ्दै गएको छ । २८ वर्षीया सारती सोही वडाको खुरुरिया पुलनिर विगत चार वर्षदेखि चटपटेसँगै पानी पुरीको व्यवसाय पनि गर्दै आउनुभएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यो व्यवसायबाट दैनिक रु. एक हजारदेखि एक हजार पाँच सयसम्म आम्दानी हुने उहाँले वताउनुभयो । मासिक रु.२०–२५ हजार बढीको कारोबार गर्दै आएको उहाँले बताउनुभयो । ‘मासिक रु. १०–१२ हजार बचत हुने गरेको छ’– उहाँले भन्नुभयो । अघिपछिको तुलनामा शनिबार अझ अलि बढी व्यापार हुने उहाँले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad