रीता लामा
दाङ, कार्तिक २९ । लमही नगरपालिकाका नगरप्रमुख जीतबहादुर केसीका अनुसार अहिले नगरपालिकाले डिजिटल नागरिक बडापत्र राखेको छ । नगरबाट पाउने सेवा सुविधा र लाग्ने दस्तुरको बारेमा जनतालाई प्रष्ट जानकारी दिन यसो गरिएको हो । ‘हामीले नगरबाट पाउने सेवा सुविधा सुचना बोर्डमा राखेका छौ, त्यो सुचनाले नपुगे छुट्टै सुचन अधिकारी समेत तोकेका छौ ।’ उनले भने ‘जनतालाई कुनै समस्या आए लिखित गुनासोको लागि गुनासो पेटिका छ । तुरुन्तै केही भन्न मन लागे टोल फ्रि नम्वर पनि छ ।’
नगरप्रमुख केसीका अनुसार जनतालाई जसरी पनि नगरसँग अपनत्व महसुस गराउन हरेक सार्वजनिक सुनुवाईमा व्यापक प्रचारप्रसारको काम पनि हुने गरेको छ । तर जनताको सहभागिता भने उल्लेख्य बढ्न सकेको छैन । स्थानिय सरकारले दिने सेवासुविधा र जनतामा अभिभावकको भुमिका निर्वाहको लागि आफुहरुले नगरबाट हुने हरेक क्रियाकलापमा जनताको सहभागितालाई जोड दिने गरेको उनको तर्क छ ।
ग्रामिण महिला उत्थान केन्द्रको पारस्परिक जवाफ देहिता परियोजनाले, सुसाशन नीति निर्माण र कार्यान्वयनको अवस्था विषयक शुक्रवार घोराहीमा आयोजना गरेको छलफल कार्यक्रममा दंगिशरण गाउँपालिकाका प्रमुख भागिराम चौधरीले आफ्नाले पालिकाले त्यहाँबाट हुने हरेक गतिविधिमा जनसहभागितालाई बढी भन्दा बढी जोड दिएको बताए । योजना छनोट देखि योजना सम्पन्न हुदाँसम्मको अवस्थामा जनताहरुको सक्रिय सहभागितालाई प्राथमिकतामा राखेको दावि गरे ।
राजपुर गाउँपालिकाकी उप्रमुख धनपति चौधरी स्थानिय निकायमा शुसासन स्थापित गर्नको लागि जनताको पनि मुख्य भुमिका हुने बताउछिन् । यहाँबाट हुने विकासे काम, जनताको सेवासुविधाको काम, सामाजिक सुरक्षाको काम के कसरी भैरहेको छ भन्ने बारेमा सचेत जनताले चासो पनि दिनुपर्छ । ‘जनताहरु बाहिरबाहिर गुनासो गर्छन् । तर कार्यालय मै आएर सुझाव सल्लाह दिदैनन ।’
हिजोआज नगरले संचालनमा ल्याएका टोलफ्रि नम्वर वा सुझाव पेटिकामा भन्दा पनि सामाजिक संजालमा विना अध्ययन गरिएको चर्को आलोचनाले जनप्रतिनीधि र कर्मचारी भने आजित हुदै आएका छन् । सुशासनको विषयमा शान्तीनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगी कर्मचारी अभावको कारणले पनि सबै काम समयमा गर्न नसकिएको गुनासो गर्छन् ।
ग्रामिण महिला उत्थान केन्द्रकी अध्यक्ष आश्मानि चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपाली भने जनप्रतिनीधिले जनता समक्ष गरेका बाचा भने पुरा गर्नुपर्ने बताउछन् । जनतालाई धेरै आश्वासन देखाएर झुक्याउनु पनि नैतिक भ्रष्टाचार भएको उनको ठम्याई छ ।
कार्यक्रममा बरिष्ठ पत्रकार सुसिशल गौतमले सुशासन नीति निर्माण र कार्यान्वयनको अवस्थाको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले प्रस्तुत गरेको कार्यपत्रमा सुशासन स्थापित गर्नको लागि जनसहभागिता, जनउत्तरदायि सरकार संचालन, पारदर्शीता, कानुनको सर्वोच्वता, जवाफदेहिता, निष्पक्ष र सक्षम प्रशासन संयन्त्रलगायतको विषयलाई प्रष्ट्याउने प्रयास गरिएको थियो ।
कार्यक्रममा अधिकारकर्मी विनोद केसी, उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसाल, शान्ती समाजका सुसिल बस्नेत, घोराही वडा नम्वर १७का वडा अध्यक्ष खुसिराम चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
नागरिक समाज दाङका अध्यक्ष चन्द्रराज पन्तको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण परियोजनाका सुचना संयोजक नविन चौधरीले गरेका थिए ।