भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरु देवादि देव महादेवको पूजा आराधना गरी मनाउँदैछन् । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसँग विवाह गरिदिन खोजेपछि साथीलाई आफ्नो समस्या सुनाइन् ।
सखी पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् । यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तीजको व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत रहेको छ ।
संस्कृत भाषाका हरित र आलिका दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । हरितालिका तीजका सन्दर्भमा हरित शब्दको अर्थ हरण गरिएको र आलिका शब्दको अर्थ साथी भन्ने हुन्छ ।
सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्री महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वासमा नारीहरु व्रत बस्ने गरेका गर्छन् ।
समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेको धर्मशास्त्रीहरुको मत रहेको छ । आत्मावादी र ईश्वरवादी दुवैले यो व्रत लिने गरेका छन् । समग्रमा परिवारको सुख शान्ति र पारलौकिक सद्गतिका लागि तीजको व्रतको महत्व रहेको छ ।
धार्मिक कारण
हिन्दूनारीहरुको महान पर्व हरितालिका तीजको ब्रत बस्ने दिन हो । आफ्ना पतिको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै तीजको दिन महिलाहरु निराहार ब्रत बस्छन् भने अविवाहित नारीहरुले राम्रो पति पाउँ भन्दै ब्रत लिने गर्दछन् । तीजको ब्रत प्रेम सम्बन्धी मिथकमा आधारित छ । सतीदेवीको अर्को रुप मानिने पार्वतीले शिवजीलाई मन पराएकी थिइन् । तर, अभिभावकहरुले उनको विवाह विष्णु भगवानसँग गरिदिने निर्णय गरे । यस्तै घटना सतिदेवीका सन्दर्भमा पनि भएको थियो ।
शिवजीजस्तो जँड्याहासँग विवाह गरेको भन्दै सतीदेवीलाई हेला गरिएका कारण उनले यज्ञमा हाम्फालेर आत्महत्या गरेकी थिइन् । पछि पार्वतीलाई पनि यसैगरी शिवजीसँग विवाह गर्न नदिई विष्णुलाई नै भिराउन खोजिएपछि पार्वतीले आफूले प्रेम गरेका शिवजीसँगै विवाह गर्न पाउनुपर्ने जिकिर गरिन् ।
पार्वतीको विवाह विष्णु भगवानसँग गर्ने निधो भएपछि साथीहरुको माध्यमबाट पार्वती भागिन् । हरि भगवानबाट लुकाइएको हुनाले यसै प्रसंगबाट हरितालिका भन्न थालिएको पुरोहितहरु बताउँछन् । हरिबाट लुकाइएकी पार्वतीले शिवजीलाई नै पति पाउँ भन्दै पानीसमेत नखाई निराहार ब्रत बसेपछि शिवजी पति पाएको र यसैलाई आधार मानेर तिजको व्रत प्रारम्भ भएको बताइन्छ ।
तीजको दिन व्रत बसे अविवाहिता महिलाले राम्रो वर पाउने, श्रीमान भएकाहरुको पतिको स्वास्थ्य राम्रो हुने र एकल महिलाका पतिको आत्माले शान्ति पाउने हिन्दू मान्यता रही आएको छ । यस दिनलाई श्रीकृष्ण भगवानको न्वारानको दिन समेत मानिन्छ । कृष्ण अष्टमीको ११ औं दिनमा हरितालिका तिज पर्छ ।