दाङ, ५ मंसिर । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय तुलसीपुरले तुलसीपुर उपमहानगरपालिकाका किसानहरूबाट मोटो धान खरिद गर्ने भएको छ । । कम्पनीले मंसिर ९ गतेदेखि धान खरिद गर्ने तयारी गरेको जनाएको हो ।
कम्पनीले प्रत्येक किसानबाट अधिकतम ४० क्विन्टल धान खरिद गर्ने जानकारी दिएको छ । धानको मूल्य नेपाल सरकारले तोकेको दरमा प्रति क्विन्टल तीन हजार ४१० रुपैंया ५१ पैसा निर्धारण गरिएको कार्यालय प्रमुख तिलक सुनारले जानकारी दिनुभयो ।
उचित मूल्यमा धान बिक्री गर्नका लागि किसानले सम्बन्धित स्थानीय तहबाट वास्तविक किसानको पहिचान सिफारिस पत्र, जग्गाधनी लालपूर्जा र नेपाली नागरिकता प्रमाणपत्र प्रस्तुत गर्नुपर्ने छ ।
प्रमुख सुनारले आगामी वर्षदेखि बर्सेनि धान खरिद गर्ने योजना रहेको बताउनुभयो । जसले किसानलाई उचित मूल्यमा आफ्नो उत्पादन बिक्री गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।