सामाजिक विकासको आधार नै हिंसा रहित समाज : नगर प्रमुख चौधरी

दाङ, ५ मंसिर । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले विभेद र हिंसा नियन्त्रित नगर बनाउन लागि परेको बताउनुभएको छ । एक अर्कालाई सम्मान र सहकार्य गर्ने बाताबरण भए मात्रै समाजको चौतर्फि विकास हुने उहाँको भनाई छ । उपमहानगरपालिकाको महिला बालबालिका तथा सामाजिक विकास शाखाले आयोजना गरेको लैंगिक हिंसा निवारण समन्वय समितिको बैठकमा बोल्दै नगर प्रमुख चौधरीले सामाजिक विकासको आधार नै हिंसा रहित समाज भएको बताउनुभयो ।

पारिवारीक मेलमिलाप, आपसी सम्मान र सहकार्यले नै समाजको चौतर्फि विकास गर्न सकिने भएकाले नगरले सोही प्रकृतिका सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । हिंसा साझा समस्याभएकाले यसको नियन्त्रणका लागि सरकारी र गैरसरकारी क्षेत्रबाट सहकार्य हुन आबस्यक रहेको बताउनुभयो । बैठकमा नगर उपप्रमुख हुमाकुमारी डिसीले लैंगिक हिंसा नियन्त्रीत नगर बनाउनका लागि विद्यालय शिक्षालाई प्रभावकारी बनाउनुभयो बताउनुभयो । सामाजिक, आर्थिक, साँस्कृतीक विकासको आधार शान्त परिवार र समाज हुने उहाँको भनाई छ ।

सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले शान्त र सभ्य समाज बनाउन सबै पक्षको सहकार्यलाई जोड दिनुभयो । यसैगरी, नेपाल महिला सामुदायिक सेवा केन्द्रका पूर्व अध्यक्ष विमला योगीले लैंगिक हिंसा नियन्त्रीत नगर बनाउने सोच नै सिंगा समाजको कार्यक्रम भएको बताउनुभयो । यो कार्यक्रम स्वागत योग्य देखिएको भन्दै उहाँले समन्वय तथा पहलकदमीबाटै संबृद्ध नगर बनाउन सकिने बताउनुभयो । कार्यक्रममा विज्ञ विकिरण गौतमले नगरले थालेको सोचलाई सार्थक बनाउने जिम्मा आम नागरिकहरुको भएको बताउनुभयो । बैठकको सहजिकरण महिला बालबालिका तथा सामाजिक विकास शाखाका प्रमुख मोतिकुमारी विश्वकर्माले गर्नुभएको थियो ।