राप्ती नदी कटान र डुबान समस्या समाधानका लागि मुख्यमन्त्री आचार्यको प्रतिबद्धता

बाँके, ५ मंसिर । बाँके जिल्लामा राप्ती नदीमा आउने बाढीका कारण डुबान र कटानको समस्या समाधान गर्न प्रदेश सरकारले ध्यान दिने भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य बुधवार राप्ती नदीले कटान गरेको स्थलहरूको अवलोकन गर्दै नागरिकहरूले भोग्दै आएको डुबान र कटानको समस्या समाधान गर्नेगरी अल्पकालीन र दीर्घकालीन समाधानका योजनाहरू अघि सारिने बताउनु भएको छ ।

राप्ती सोनारी गाउँपालिका –७ खल्लाझगडियामा डुबान र कटानको समस्या बढ्दा मानव वस्ती उच्च जोखिममा परेको छ । स्थलगत अवलोकन गर्दै मुख्यमन्त्री आचार्यले डुबान र कटानको उच्च जोखिम रहेका स्थलहरूको पहिचान गरेर तटबन्धको योजना सञ्चालन गर्ने प्रतिबद्धता जनाउनु भयो ।‘राप्ती नदीमा आउने बाढी र त्यसले पु¥याउने जोखिम न्यूनिकरण गर्न अल्पकालीन र दीर्घकालीन योजना अघि बढाउनुपर्छ । यसमा प्रदेश सरकारले पहल लिन्छ’ मुख्यमन्त्री आचार्यले भन्नुभयो, ‘जहाँ जोखिम छ, त्यहाँ तटबन्धको आयोजनाको काम अघि बढाउन जरुरी छ ।’ 

राप्ती नदीमा आउने बाढीका कारण बाँकेका नदि तटीय क्षेत्र सधैँ डुबानमा पर्ने गरेका छन् । स्थानीहरू विस्थापित हुने र खेतियोग्य जमिन बगरमा परिणत हुँदा समस्या बढ्दै गएको छ । नरैनापुर गाउँपालिका डुबान र कटानका कारण पूर्ण प्रभावित हुँदै आएको छ भने राप्ती सोनारी गाउँपालिका वडा नं. ७ को ७५ प्रतिशत भूभाग प्रभावित हुँदै आएको स्थानीय पूर्णबहादुर चौधरीले बताउनु भयो ।जोखिम क्षेत्रको अवलोकन गर्न मुख्यमन्त्री आचार्य सहित प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिहरूले स्थानीय बासिन्दासंग छलफल समेत गर्नु भएको थियो ।