दाङ, ३ कार्तिक । दाङमा एक महिलाको शव फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका-३ स्थित अंगेरी खोलामा २८ वर्षीया मिना कठायतको शव फेला परेको हो ।
सल्यानको कपुरकोट गाउँपालिका-४ गाडापानीकी मिना तुलसीपुर उपमहानगरपालिका-३ श्रीगाउँमा दुई छोराछोरीसहित कोठा भाडामा बस्दै आउनुभएको थियो ।
शुक्रबार (हिजो)देखि परिवारसँग सम्पर्कविहीन भएकी मिनालाई आफन्तजनले खोजी गर्ने क्रममा आज दिउँसो करिब साढे १ बजेतिर अंगेरी खोलामा शव फेला परेको हो ।
घटनाको सूचनापछि इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा पाँचजनाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो । घटनाको प्रारम्भिक अनुसन्धान जारी रहेको र घटनाको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।
मिनाका ससुरा कणर् बहादुर कठायतले इलाका प्रहरी कार्यालय तुलसीपुरलाई दिएको जानकारी अनुसार मृतक मिनाका श्रीमान् हाल विदेशमा रहेका छन् ।
घटनापछि मृतकका परिवार र स्थानीयवासी शोकमा छन् । घटनाको कारण अझै अस्पष्ट रहेकाले थप अनुसन्धान भइरहेको प्रवक्ता थापाले जानकारी दिनुभयो ।