प्यूठान, ३ कार्तिक । प्यूठानको माण्डवी गाउँपालिकाको एक होटलमा खाजा खाएका १७ जना बिरामी परेका छन् । माण्डवी गाउँपालिका-३ लामाचौरस्थित आकाश होटल तथा फ्रेस हाउसमा खाजा खाएका १७ जना बिरामी परेको माण्डवी गाउँपालिकाका उपाध्यक्ष पूर्णप्रसाद कालाथोकीले बताए ।
असोज ३० मा उक्त होटलमा खाजा खाएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मीसहित स्थानीय बिरामी परेका हुन् । उपाध्यक्ष कालाथोकीका अनुसार २ जना सुरक्षाकर्मी, एक जना स्वास्थ्यकर्मी र १४ जना स्थानीय बिरामी परेका छन् । उनीहरूमा झाडाबान्ता र पेट दुख्ने समस्या देखिएको छ । फुड प्वाइजनका कारण उनीहरु बिरामी परेको प्यूठान अस्पतालले जनाएको उपाध्यक्ष कालाथोकीले बताए ।
बिरामी परेकाहरूको अहिले रिलेसन पोलिक्लिनिक जस्पुर, प्यूठान अस्पताल र भिगृ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।