जीतसागर जी.एम. ।
तुलसीपुर, २० असार ।
तुलसीपुर उपमहानगरपालिकाले जथाभावी फोहर बढ्न थालेपछि सरसफाईमा कडाई गर्ने भएको छ । उपमहानगरपालिकाले आगामी आर्थिक वर्षदेखि जथाभावि अटेरी गरी फोहर गर्नेलाई ५० हजार सम्मको जरिवानाको व्यवस्था गरी नियमनमा कडाई गरेको हो ।
मानिसहरु शिक्षित बन्दै जाँदा व्यक्तिगत सरसफाईमा ध्यान दिएपनि सार्वजनिक ठाँउमा फोहर गर्ने बानिको अन्त्य हुन नसकेको भन्दै फोहोर व्यवस्थापनमा कडाई गरेको नगरप्रमुख घनश्याम पाण्डेले बताउनुभयो । नगरपालिकालाई स्वच्छ र सुन्दर नगरीका रुपमा विकास गर्ने अवधारणा रहेको भन्दै सरसफाईमा कडाई गरिएको उहाँको भनाई छ ।
नगरप्रमुख पाण्डेका अनुसार उपमहानगरपालिकाले जथभावी फोहर गर्नेलाई ५ हजार देखि ५० हजार सम्म जरिवाना गर्न सकिने छ । सरसफाई स्वास्थ्य संग प्रत्यक्ष जोडिएको मात्र नभई इज्जत र प्रतिष्ठा संग पनि जोडिएकाले उपमहानगरपालिकाले अटेरी गरी फोहर गर्नेलाई ५ हजार, दोस्रोपटक १० हजार र तेस्रोपटक २५ हजार जरिवाना गर्ने भएको छ ।।