देउखुरी, असार ५ । प्रत्येक शुक्रबार सम्झनाले कतारमा रहेका श्रीमानसँग कुरा गर्नु हुन्थ्यो । फोन मार्फत हप्ता भरिको सुखम दुखम सम्झनालाई फुलिरामसँग साट्ने बानी परिसकेको थियो । बालबच्चाको पढाईदेखि, भान्साको नुन तेल र साहु ऋणको बारेमा कुरा गरेर योजना बन्थ्यो सम्झनाको परिवारमा ।
२०७२ सालको तिहार मानेर कतार उडेका लमही नगरपालिका वडा नं. ८ बिचगाउँका फुलिराम चौधरी यहि दशैमा घर आउने पक्कापक्की थियो । सधै जस्तै जेठ ३१ गते शुक्रबार पनि कतारबाट फोन आयो सम्झनालाई । तर त्यो फोन फुलिरामको थिएन । फूलिरामको मृत्युको खबर पु¥याउने कुनै एक जनाको फोन थियो त्यो । सधै जस्तै काम गरेर सुतेका फुलिराम विहान मृत्यु भएको अबस्थामा भेटिएको खबरले सम्झनाको सिंगो जिन्दगीमा कहाली लाग्दो पहिरो गयो ।
मृत्युको खबर पाएकी सम्झनाको आँखाहरु ओभाएका छैनन् । ‘कतार गएको ४ वर्ष भैसकेको थियो, आउनै मान्नु भएको थिएन, राम्रै पैसा कमाएर मात्र आउछु भनेर बस्नु भयो ।’ २७ वर्षीया सम्झनालाई बोल्न गाह्रो भयो, ‘दशैमा आउने कुरा थियो, मान्छे आउला भनेको यस्तो खबर आयो ।’ घर परिवारलाई सुखले राख्ने सपना लिएर विदेश उडेको फूलिराम जिउँदो फर्किन सकेनन् । पाँच दिनदेखि विच गाउँ शोकमा छ । ३६ वर्षीय फूलिरामलाई बिचगाउँबासी सबैले सम्झना गरिरहेका छन् ।
पक्की घर बनाउने सपना
छरछिमेकमा ठुला घर भए । फुलिरामलाई यहि चिन्ता थियो, नेपालमा बसेर ठुलो सिमेन्टको घर बनाउन सकिदैन भन्ने लागेपछि कतार उडेका फुलिरामको सपना अधुरो रह्यो । अहिले पनि घरको आर्थिक अवस्था निकै कमजोर र खरको छानो र माटोले पोतेको कच्चि घर छ । घरपरिवारलाई पक्कि घरमा राख्ने ठूलो सपना बोकेर फुलिराम चौधरी कतार हिडेका थिए ।
फुलिरामको परिवारमा अहिले पनि १७ जना सदस्य छन् । आफ्नै जग्गा नभएका कारण खान लगाउन समेत राम्रो सँग नपुग्ने भएपछि बाध्यताले घर छोडेका फुलिरामले बेलाबखत पैसा समेत पठाउने गरेको श्रीमती सम्झनाले बताउनुभयो । ‘घर बनाउने हो भन्नु हुन्थ्यो, खै पैसा कति कमाउनु भयो, केहि थाहा छैन, कहिलेकाही पैसा पठाउनु हुन्थ्यो ।’ सिठाले बारेको घर हेर्दै सम्झनाले आँसु पुछ्नुभयो र भन्नुभयो, ‘अब त सबै सक्कियो ।’
सम्झना र फुलिरामको विवाह भएको करिव १० वर्ष वित्यो । अहिलेसम्म सन्तान छैनन् । फुलिरामको सपना अधुरै रहेको खरले छाएको घर भित्र सन्नाटा छाएको छ । चुलो बलेको छैन । कसैलाई भोक पनि लागेको छैन । ‘चार वर्षपछि आउन लागेको खबरले सबै खुशी हुनुहुन्थ्यो, तर जिउँदो देख्नै पाईएन ।’
शवको प्रतिक्षामा…
दशैमा आउनु भनेको परदेशीलाई असारमै प्रतिक्षा गर्नुप¥यो, जिउँदो हैन मुर्दाको । सिंगो परिवारलाई सुखमा राख्छु भनेर पैसा कमाउन हिडेको लक्का जवान छोरोको शवको प्रतिक्षा गर्नु सिवाय केहि गर्न सकेका छैनन् बाबुआमाले ।
कतारको ज्याक कम्पनि कन्ट्रक्सन रोडलाईनमा कार्यरत फुलिराम चौधरीको शव ल्याउने तयारी भैरहेको छ भन्ने खबरले चौधरी बस्तीमा ब्यग्र प्रतिक्षा छ अहिले । दाई हरिराम चौधरीले भन्नुभयो, ‘भाईको शव घरमा अझै आइपुग्या छैन । विदेश पठाउने भिम डाँगीसँग फोन कुरा भैरहेको छ ।’ उहाँले भन्नुभयो, ‘शव घरमा आईपुगने कहिले हो त्यस्को कुनै अत्तोपत्तो छैन ।’
दाई हरिराम चौधरीले भन्नुभयो, ‘भाईको साथीले फोनमा आत्महत्या गरि मृत्यु भएको खबर सुनाएका थिए, आत्महत्या हो की हत्या हो, यथार्थ कुरा अझै थाहा छैन’ उहाँले भन्नुभयो, ‘नजिक भएको भए गएर बुझ्न हुन्थ्यो, अर्कोको देशमा सजिलै जान पनि नसकिने, साह्रै गाह्रो भयो ।’