दाङ, १८ असोज । दाङको तुलसीपुर–७ गणेशपुरस्थित राप्ती शान्ति उद्यान (गणेशपुर पार्क) मा पर्यटकको आकर्षण दिनप्रतिदिन बढ्दै गएको छ । गौतमबुद्धको मूर्ति, हरियाली वन क्षेत्र, पोखरी, जनावर, फोहोरा, कृतिम झरना लगायतले यहाँ आगन्तुकलाई लोभ्याइरहेको छ ।
उद्यान व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज भण्डारीका अनुसार बुद्ध मूर्ति स्थापना भएपछिको आकर्षण थपिएको छ । पोखरीमा डुङ्गा सयरको व्यवस्था छ भने पाँच हजार माछा पालन गरिएको छ । चिडियाखानामा बाघ, बाँदर, उल्लु, चित्तललगायत जनावर छन् । हात्ती र गैँडाको प्रतिमाले पनि सौन्दर्य बढाएको छ । रङ्गौली गार्डेन, चिल्ड्रेन पार्क, फूलबारी, स्वीमिङ, पिङलगायत संरचना तयार छन् । दैनिक चार सयदेखि पाँच सयजना तथा चाडबाडमा दुई-तीन हजारसम्म आगन्तुक आउने गरेको समितिको दाबी छ ।
यो क्षेत्र पहिले अतिक्रमणको प्रयासमा परे पनि स्थानीयले संरक्षण गरेर सामुदायिक वनमा रूपान्तरण गरेका थिए । विसं २०५९ मा हरि रिजालको नेतृत्वमा पार्क निर्माणको पहल भएको हो । अध्यक्ष भण्डारीका अनुसार जनयुद्धको समयमा शान्तिको कामनासहित पर्यटकीय स्थल बनाउने उद्देश्यले यो पार्क निर्माण गरिएको हो ।